
एजेन्सी – बार्सिलोना इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेजलाई भित्राउन आतुर छ । तर, उनलाई भित्राउन काटलान टोलीलाई रिजिल क्लज रकम तिर्न भने कठिन भइरहेको छ ।
मार्टिनेजले सिरिएमा यो सिजन स्तरीय प्रदर्शन गरेका छन् । जसका कारण उनी बार्सिलोनाको रोजाईमा परेका छन् । तर उनलाई भित्राउन चर्का मुल्य तिर्नुपर्ने अवस्था छ । रिलिज क्लजका लागि मात्र ९७ मिलियन पाउन्ड तिर्नुपर्ने हुन्छ । कोभिड १९ का कारण टोलीको आर्थिक अवस्था कमजोर भएको छ । जसले गर्दा टोलीलाई कठिन भइरहेको बताइएको छ ।
यद्दपी बार्सिलोना उनलाई लिनका लागि हर सम्भव प्रयास गर्नेमा छ । अहिलेसम्म पनि बार्सिलोनाले इन्टरलाई प्रस्ताव भने गरेको छैन । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे पनि बार्सिलोनाले बलियो प्रस्ताव राख्छ भन्नेमा आशावादी छैनन् । कोन्टेले टोलीबाट लोनमा पीएसजी पुगेका फरवार्ड माउरो इकार्डीलाई भने योजनामा राखेका छैनन् । अर्का फरवार्ड रोमेलु लुकाकु गत सिजन मात्र आएकाले इन्टरमै बस्ने पक्काजस्तै छ ।
मार्टिनेजका विषयमा बार्सिलोनाको ला लिगाको प्रतिद्वन्द्वी रियल म्याड्रिडसहित पेरिस सेन्ट जर्मेनले पनि चासो देखाएका छन् । तर, पनि क्लबहरुलाई अहिलेको अवस्थामा ठूलो रकम खर्च गरेर खेलाडी भित्राउन सहज भने छैन । अधिकांश क्लबले खेलाडी साटफेरसहितको प्रस्ताव राख्ने विश्लेषकहरुले बताएका छन् । बार्सिलोनाले पनि केहि खेलाडी मुक्त गर्न चाहेको हुँदा मार्टिनेजको प्रस्तावमा खेलाडीसहित केहि रकमको प्रस्ताव गरिने सम्भावना छ ।hamrokhelkud/from



