विचार

कोरोना र करुणा


जी एन शर्मा
दुनियाँ कोरोना भाइरसले थला परेको छ । लास माथि लासको खात जन्मीरहेको देखिन्छ । पृथ्वीमा सिङ्गो मानवजाती माथिनै अशतित्वको संकट एक ढङ्गले छाएको देखिन्छ । यो समय भनेको आम मानव जातीको रक्षा कसरी गर्न सकिन्छ र कोरोनाको तिब्ररुपमा फैलदै गएको मन्दविषबाट कसरी बच्ने सकिन्छ भन्नेनै हो । पृथ्बीमा भएका मानिस माथिको यो संकटको समाधानका लागि हरप्रयत्न जारी रहेकाछन् । तर अहिले सम्म हामीसँग लकडाउननै एक मात्र उपायको रुपमा आएकोछ । यो बेलामा हामीसँग रहेको साथ, सहयोग र सहकार्यलाई थप उजागर गर्ने बेला हो, हामीसँग भएको करुणा र मानवमनले कोरोनाबाट प्रताडित बनेका मानिसहरुको मनलाई उत्साहमा रुपान्तरण गर्ने हो । एकतिर मृत्युको हाहाकार मच्चाएर आएको कोरोना छ भने त्यससँग डट्नका लागि हामीले हाम्रो करुणामय मनलाई जगाउनु आबाश्यक छ ।
लकडाउको परिधी भित्र रहेको हामीसँग अहिले धैर्य, संयता, सहकार्य र करुणाको जागृृतीनै तत्कालिन रुपमा कोरोना बिरुद्धको हाम्रो औषधि हो । एकातिर हामीसँग अहिले कोरोनाको त्रास रहेकोछ भने आम नागरिकलाई गाँसको पनि समस्याले गाँजेको छ ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने ठूलो समूह अहिले कोरोना भन्दा पनि भोकले पो मरिने होकी भन्ने पिरलोमा रहेकोे छ । यो समय हाम्रा लागि मानव मनमा रहेको दया, करुणा र स्नेहलाई पोख्ने समय पनि हो । मानव मन भित्र रहेको अथाह प्रेमलाई छताछुल्ल हुने गरि बगाउने समय हो । कोरोनाको त्राससँगै भोकभोकै रहेका ती जो हुन् , मानिसलाई भोकका कारण मृत्युको मुखबाट बचाउने समय पनि हो । कोरोनाको जसरी सीमा र परिधी रहेको छैन र आज उसले दुनियाँमा आफ्नो मृत्युको जाल फ्याँकेको छ त्यसको प्रतिवादका लागि हामीले पनि जानकारीमा आएका स्वास्थ सुरक्षाका उपायलाई पालना गरेर कोरोना र भोकबाट बचाउन एकले अर्काको मानव मनलाई चिन्ने प्रयत्न गर्नु जरुरी छ ।

आफु दुनियाँमा रहुन्जेलनै आफुसँग भएका र रहेका यावत वस्तु आफ्ना हुने हुन् आफुनै नरहे त्यसको अर्थनै पो के हुन्छ र भन्ने हामी जो कसैलाई पनि थाहानै छ । अहिले हामसँग म र मेरो भन्ने मात्र भाव र भावना कतै रहेको छ भने त्यसलाई हटाउने समय पनि हो । म र हामी भन्ने मानवीय मनलाई एक पटक देखिने गरि मनबाटै प्रदर्शन गर्ने बेला भनेकै यो समय हो । स्वयम् सेवा , परोपकार, दया, करुणा र सहकार्य भन्ने शब्द सुन्न र सुनाउनका लागि मात्र बनेका पक्कै होइनन् ।

यसको वास्तविक महत्व र प्रयोग गर्ने समय भनेकै यस्तै बेलामा हो । हाम्रा फरक सोच , चिन्तन, शैली र विचारलाई पर सारेर कोरोनासँग जुध्नका लागि अहिले हामीसँग मात्र मानवमनको आबाश्यकता छ । मेरो भनेको हाम्रो र हाम्रो भनेको हामी सबैको हो भन्ने भावनानै कोरोना बाट आफु बच्ने र अरुलाई पनि बचाउन सकिने महान पुण्य कर्म हो । मानव भएका कारणनै हामसँग मन छ त्यो मन भएकालेनै हामीसँग दान अर्थात परोपकार र सहयोग गर्ने भाव छ आज यही मानवमनको हामी सबैलाई खाँचो छ जसले म मात्र होइन, मेरो मात्र होइन , हामी र हामीसबैका लागि भनेर सोच्ने गर्दछ । यो संकटको घडीमा कसैको आलोचना र अर बिषयको बहस भन्दा पनि मानिस माथि आईपरेको यो महासंकटबाट बच्ने र बचाउने कार्यमा हाम्रो सम्पूर्ण ध्यान र मन जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button