
झापाको मेचीनगर वडा नं. ६ मा विद्यार्थीहरूलाई लक्षित गर्दै पाँचदिने योग अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। पाताञ्ज योग समिति नेपाल काँकरभिट्टा साधना केन्द्रको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
शुक्रबारदेखि वडा नं. ६ स्थित सामुदायिक हलमा सुरु भएको कार्यक्रममा विद्यार्थीहरूलाई योग, ध्यान, स्वास्थ्य सचेतना तथा अनुशासित जीवनशैलीबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन वडा नं. ६ का अध्यक्ष ललितबहादुर तामाङ ले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। उद्घाटन कार्यक्रममा काँकरभिट्टा साधना केन्द्रकी अध्यक्ष दुर्गा भेटवाल को सभापतित्व रहेको थियो।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष तामाङ सहभागी भएका थिए भने विशेष अतिथिका रूपमा योग प्रशिक्षक महेश लामिछाने रहेका थिए। कार्यक्रममा जनप्रतिनिधिहरू ध्रुवकुमार राई, भविन्द्र सुब्बा र अञ्जु थापासहित दुर्गाबहादुर लुईटेल, मिना कटवाल, राजु महर्जन, कृष्ण बस्नेत लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य अनिता गुरागाईंले राखेकी थिइन्। पाँचदिने अभिमुखीकरण कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा योग प्रशिक्षक महेश लामिछानेले प्रशिक्षण दिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार विद्यार्थीहरूमा सकारात्मक सोच, मानसिक एकाग्रता, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।




