
जी एन शर्मा
मानौँ छैठौका दिन भावी आउँछ , उनीहरुका पुर्पुरोमा धमाधम लेखिदिन्छ अब उप्रान्त पार्टी र सरकार चलाउने जिम्मा तमहरुलाई मात्र दिईएको छ । तिमी दुईचार भाईहरुको स्वेच्छाचारितामा गरिएका जे जति लोलुपता र आशक्तिहरु हुुन्छन् त्यस माथि कोही कसैले अम्लो उठाउने अधिकार छैन । पार्टी र सरकारमा बसेर हैकम चलाउने भाग्य तिमीहरुलाई मात्र रहेको छ । जब सम्म तिमीहरुको घिडघिडो रहन्छ तब सम्म कुर्सी तिमीहरुकै लागि मात्र आविष्कार गरिएको छ ।
नेपाली राजनीतिको विगतदेखि वर्तमान सम्मको पार्टी र सरकार चलाउने तौरतरिका हेर्दा लाग्छ केही थान मान्छेलाई मात्र त्यो अधिकार दिईएको छ, उनीहरुसँग अक्कल र ढङ्ग जति होस त्यो नै सबै थोक हो र उनीहरु बाहेक अरुले त्यो अवसर त्यो बेला मात्र प्राप्त गर्नेछन् जब उनीहरु यो लोकमा हुदैनन् । आफुलाई जुनसुकै वादी भन्नेहरुको पार्टीमा र देश चलाउने भनेर सरकारमा जानेहरको फेहरिस्त रोटे पिङ भन्दा फरक देखिदैन । कित पार्टीको मुखिया कि त सरकारको डफेदार ।
अरुलाई बुर्जुवा भनेर आफुलाई जनवादी, का्रन्तिकारी, जनपक्षिय जे जे पगरि लगाउनेहरुको पनि चाला यो भन्दा कम छैन बरु पछिल्लो समयमा आएर बुर्जुवा भन्दा एक कदम अघि सरेर सर्वहाराका नेता भनाउँदाहरुको पद लोलुपता र कुर्सी मोह देख्दा लाग्छ सबै भन्दा पहिला भावीले त उनीहरुकै निधारमा आएर लेखेको पो हो कि क्या हो जस्तो देखिन्छ । हातपाउ बसुन्जेल सम्म आफुनै सर्वोच्च बन्नु पर्ने होडले पछिल्लो पुस्तालाई उनीहरुकै रमिता हेर्दा पुग्ने भएको छ । कुरामा हेमानका लोकतान्त्रिबक गफ उराल्ने ब्यबहारमा आफु पछाडिको पुस्तालाई आफ्नो बिरासत छाड्ने कल्पना सम्म गर्दैन यो भन्दा लाज लाग्ने अरु के होला र ?
पछिल्लो राजनीतिका घट्नाक्रमलाई हेर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) भन्ने पार्टीमा अहिले त्यस्तै भएको छ । भनिन्छ देशमा लोकतन्त्र छ तर पार्टीमा तानशाहीको जगजगी छ। अहिले यो पार्टीका आन्तरिक गतिविधीलाई हेर्दा लाग्छ यो पार्टी हो कि ग्याङ्ग हो भनेर आफ्नै कार्यकर्ताले भेउ पाउन छाडेकाछन् । भनिन्छ कम्युनिष्ट पार्टीमा छलफलमा स्वतन्त्रता र काममा एकरुपता हुन्छ भनेर तर लाग्छ यो पार्टीमा नत सामूहिक छलफलमा रहेकोछ नत काममानै यसको एक रुपता रहेको छ । नेता पिच्छेका समूह अर्थात ग्याङ्ग र उनीहरु बीचमा पनि बडेले बडेनै भईरहनु पर्ने र आफु भन्दा अब्बल छोटेछन् भने पनि उनीहरुले बडेकै फेर समात्नु पर्ने फसाद रहेको छ ।
कुबेलामा ल्याईएको अध्यादेशका कारण किचलो भित्र किचलो शुरु भएको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) मा अहिले यही किचलोलाई मसला बनाएर फेरि भावीले छैठौका दिन निधारमा कुर्सी पुत्र भनेर लेखिदिएकाहरुनै ताउरमाउर गरेर फेरि आफै यो वा त्यो नाममा बिराजमान हुन कस्सीरहेकाछन् । पटक पटक सरकारमा गएर परिक्षण भएकाहरुले अब त कमसेकम भावी पुस्ताको क्षमतालाई अवसर दिनु पर्ने हो तर यसको लक्षण सम्म देखिदैन । आफुलाई दोस्रो पुस्ताका नेता हौँ भन्नेहरु पनि मनमनै रिसाउने गर्छन् । ल्याकत नभएर हो या त्यो क्षमतानै छैन यदि छ भने ठाडै किन भन्न हिम्मत गर्दैनन् ? के पार्टी भनेको तिमीहरुको पुख्र्यौली दौलत हो भनेर , किन भन्न सक्तैनन् अब पालो हाम्रो हामी गरेर देखाउँछौ भनेर ? जसोजसो बाहुन बाजे उसैउसै स्वाह भनेर बानी परेकाले पनि हुन सक्छ ।तर, अहिले नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) का लागि एउटा सु अवसर पनि छ कि अबको नेतृत्व दोस्रो पुस्ताका नेताले लिनै पर्छ । भनिन्छ फलाम तातेका बेला मात्रै त्यसको ढाँचामा परिवर्तन गर्न सकिन्छ सेलाएपछि त फेरि उस्तै हुन्छ ।
नेपाली जनताको आशा र भरोसा मानिएको यो सरकारले काम भन्दा कुरा धेरै फलाकेको सबैलार्इृ थाहा छ । नेतृत्वमा रहेकाहरुको म र मेरो टोली भन्दा अरु केही पनि हुन सकेन । पुरानो पुस्ताका नेताहरु सत्ताको स्वादबाट कोही पनि करिब करिब बञ्चित छैनन् र उनीहरुको क्षमताको पनि राम्रै परिक्षण र प्रदर्शन भईसकेको छ । कुनै पनि पार्टी बहस र छलफल हुन जरुरीनै हुन्छ तर घुमाई फिराई यस पटक पनि पुरानै ठेकेदारहरुको कमाण्डमा पार्टी र सरकारको बागडोर गयो भने भन्नै पर्छ । ‘ साच्चै छैठौँका दिन यीनकै थाप्लामा मात्र कुर्सी पुत्र ’लेखिएको रहेछ भनेर । त्यसपछि यो छैठौँमा भावीले लेखिदिएकाहरुको शक्तिशालीहरुको साच्चैको ग्याङ्गमा रुपान्तरित बन्ने छ भन्दा अन्यथा पनि त नहोला ।
0 26 2 minutes read



