मूल खबर

झापामा २१६ को पिसिआर नेगेटिभ, ६२ जनाको आउन बाँकी

कारोना संक्रमण देखिएपछि स्वाब परीक्षणका लागि नमूना संकलन गर्दै चिकित्सक तथा प्राबिधिक तस्बिर– टीकाराम उप्रेती

टीकाराम उप्रेती
झापा, वैशाख १८ गते । दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंका अनुसार जिल्लाका १५ वटै पालिकाबाट संकलन गरिएको स्वाब पिसिआर परीक्षणमा अधिकांश नेगेटिभ देखिएको छ । संकलन गरिएको स्वाब मध्ये ६२ जनाको नतिजा आउन बाँकी रहेको छ ।
परीक्षण गरिएका मध्ये दमक नपा ३ का ६२ बर्षिय एक पुरुष र बाह्रदशी गाउँपालिका ४ र ५ को सीमा क्षेत्रमा रहेको चकचकी बजारका ५० वर्षीय पुरुषमा पिसिआर पोजेटिभ देखिएको थियो । संक्रमित दुबैजनाको मोरङको विराटनगरस्थित कोशी अस्पतालको काभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । सबै रिपोर्ट आइनसकेका मानिसको हकमा कोरोन्टाइन मा नै राखिएको छ । रिपोर्ट आएपछि भने आवश्यकता अनुसार प्रकृया अघि बढाउने योजना रहेको छ ।
यस्तै जिल्लामा जम्मा ९५० जनाको आरडिटी (¥यापिड डाइनोष्टिक टेष्ट) गरिएको थियो । परीक्षण गरिएका मध्ये ६ जनाको पोजेटिभ देखिएको चम्लागाईंले जानकारी दिनुभयो । पोजेटिभ आएका मध्ये ५ जना दमक नपाका रहेका थिए भने एक जना जिल्लाकै हल्दीवारी गापाका रहेको जनाइएको छ ।
जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिम रहेका मानिसलाई लक्षित गरिएको थियो । यसमा संक्रमण भएको देशबाट आएका मानिसको ट्राभल्स हिस्ट्री र ‘कन्ट्याक्ट ट्रेसिङ, अध्ययन गरेर परीक्षण गरिएको जनाइएको छ । जिल्लामा गत चैत २८ गतेदेखि परीक्षण अघि बढाइएको थियो ।
जिल्लाको दमक नपामा संक्रमण देखिएपछि सिल गरिएको वाड नं ३ लाई समेत अन्य सम्भावितको परीक्षण नेगेटिभ आएपछि खुकुलो बनाइएको छ । जिल्लाको १ सय ४४ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले भारतबाट आउने जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी उदय रानाले बताउनुभयो । अधिकांश सीमा क्षेत्रमा तत्काल अस्थाई सुरक्षा पोष्ट स्थापना गरेर समेत कडा बनाइएको छ ।गोरखापत्र अनलाइन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button