
मेचीनगर । २०७२ बैशाख १२ गतेको भुकम्पलेको बिनासकारी बिपत्तिसँगै परोपकार भावका साथ जन्म लिन पुगेको मेची अभियान कोरोना संक्रमणको बिपत्तिको बेलामा पनि आफ्नो सेवामयी यात्रामा निरन्तर जागरुक बनेको देखिन्छ । मानवीय सेवालाईनै आफ्नो मूलमन्त्रको रुपमा आत्मसात गरेर त्यो समयमा नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा , बिजय डालमियाँ लगायत यहाँका सामाजिक र नागरिक अगुवाहरुको पहल र सकृयताका जन्म लिन पुगेको मेची अभियान कोरोनाको विश्वब्यापी कहरमा नेपालको पूर्वीद्धारमा रहेर पीडामा रहेका मानिसहरुका लागि मल्हम बन्न पुगेको छ भने सामाजिक स्वास्थ्य सुरक्षाका क्षेत्रमा समेत आफ्नो पहलमा उत्तिकै सकृय रहेको देखिन्छ ।



भूकम्पले तत्कालिन अवस्थामा थोपरेको बिपत्तिको पीडामा नेपालका पूर्वी पहाडी जिल्लाहरुमा राहत रुपी मल्हम बनेर सकृय बनेको थियो मेची अभियान । अन्य समयमा समेत आफुले सक्दो मानवीय सेवाका लागि हाजिर बन्ने गरेको मेची अभियानले कोरोना कहरको बेलामा अहिले झापाका बिभिन्न स्थानमा डिसईन्फेक्सन टनेल, भारत पश्चिम बंगालको पानीटैंकीमा अलपत्र नेपालीहरुका लागि खाध्य सामाग्री, काठामाडौबाट निशुल्क यात्रा सेवा गराउँदै झापा सम्म बिध्यार्थीहरुलाई ल्याउने कार्य, बिभिन्न सरकारी र गैरसरकारी संघ संस्थाहरुमा मास्क, ग्लोब, पिपिई वितरण समेत गर्दै आएको छ ।


भूकम्पको समयमा काँग्रेस नेता विश्वप्रकाश शर्माको सकृयता र पहलमा स्थापना भएको मेची अभियानलाई अहिले बिजय डालमियाँ लगायतका सामाजिक अगुवाहरुले निरन्तरता दिइरहेकाछन् । कोरोना बिपत्तिको समयमा मेची अभियानले सामाज सेवाको यात्रालाई निरन्तरता दिदै बिपतको घडीमा पु¥याउँदै आएको मानवीय सेवालाई सबैको साथ र सहयोगले मात्र संभव भएको बताउँछन् अभियानका संयोजक बिजय डालमियाँ ।





