मूल खबर

भारतले नेपालको लिपुलेक हुँदै सडक निर्माण गरेको विरोधमा देशभक्तहरू एकजुट होऔँ : युवा सङ्गठन

काडमाडौँ : युवा सङ्गठन नेपाल भेरी–कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सरकारले साम्राज्यवादी चरित्र प्रस्तुत गर्दै नेपालको लिपुलेक हुँदै एकतर्फी रुपमा मानसरोवर जाने सडक निर्माण गरेकोमा आक्रोश व्यक्त गरेको छ । सङ्गठनका इन्चार्ज दीपले जारी गरेको विज्ञप्तिमा भारतीय अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा तीव्र भत्र्सना गर्दै यस घटनाविरुद्ध एक हुन देशभरका राष्ट्रिय मुक्तिकामी र परिवर्तनकामी युवाहरूमा हार्दिक अपिल पनि गरिएको छ ।

इन्चार्ज दीपको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसङ्घको बडापत्र, सार्कको बडापत्रविपरीत र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै भारतीय साम्राज्यवादी सत्ताले एक सार्वभौम मुलुक नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो निर्माण र उद्घाटन भारतीय सत्ताले आफ्नो भिडियो कन्फरेन्समार्फत गरेको छ । नेपालमाथिको उक्त निन्दनीय साम्राज्यवादी हस्तक्षेपले हामी देशभक्त युवाहरूलाई निक्कै आक्रोशित तुल्याएको छ र यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसअघि पनि नेपालका लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितका भूभाग भारतीय साम्राज्यवादले आफ्नो नक्सामा गाभेको घटनालाई लिएर देशभर हाम्रो गौरवशाली युवा सङ्गठनको आह्वानमा देशभक्त युवाहरूले उक्त भारतीय नक्सामा आगो लगाएर, कोणसभा गरेर र अन्य सङ्घर्षद्वारा भारतीय सत्ताको हर्कतमाथि बिम्बात्मक प्रतिरोध गरेको थियो भने केपी सरकार र यो सत्ताको प्रतिपक्षीले उक्त अतिक्रमणको विरोधमा एक शब्द पनि खर्चेनन्, बरु विरोध गर्ने देशभक्त युवाहरूलाई दमन र जेलनेलको डन्डा चलाएर विदेशी मालिकको चाकरीमा नाङ्गो नाच नै देखायो । तसर्थ यो सत्ताको भ्रममा नपर्न पनि सम्पूर्ण युवाहरूमा आग्रह गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाल आएर पुनः कोरोनाको विश्व–त्रासदीको समयमा लिपुलेकमा भएको भारतीय अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा तीव्र भत्र्सना गर्दै यस घटनाविरुद्ध एक हुन देशभरका राष्ट्रिय मुक्ति युवाहरूमा, परिवर्तनकामी युवाहरूमा हार्दिक अपिल गर्दछौँ।’ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button