
तातोपानी नाकास्थित इको पहिरो र लिपिङ बजारमा रहेका भग्नावशेष घरटहरा हटाउँदै सडक डिभिजन कार्यालय, चरिकोटका मेसिन। तस्बिर : चित्रकुमार मिजार
चित्रकुमार मिजार
सिन्धुपाल्चोक, भदौ ९ गते । असार ३१ गतेदेखि पूर्ण रूपमा ठप्प रहेको तातोपानी नाका सडक सुचारु गर्न सोमबारदेखि पहिरो तथा भग्नावशेष भएका घरटहरा हटाउन थालिएको छ। पहिरो र भग्नावशेष पन्छाएपछि अबको केही दिनभित्र नाका सडक सुचारु हुने भएको छ।
तातोपानी नाकाको इको पहिरो, लिपिङ बजारको पहिरो तथा त्यहाँ रहेका भग्नावशेष घरटहरा हटाउन थालिएको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो। केही दिनअघि डाक्लाङको पहिरो पन्छाइएको थियो। इको र डाक्लाङको पहिरो तथा भूकम्पबाट भग्नावशेष बनेका लिपिङ क्षेत्रका घरटहरा हटाएपछि नाका सडक सुचारु हुने भएको हो।
नेपाल–चीनबीचको मितेरी पुलसँगै जोडिएको लिपिङ क्षेत्रको सडक भासिएर छिनेको अवस्थामा छ। माथिल्लो भागमा मानव बस्ती र तल भोटेकोशी नदीको बहावका कारण सडक तानिएपछि सडक साँघुरिएको छ। यस कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।
सडक डिभिजन कार्यालय, चरिकोटले इको र डाक्लाङको पहिरो पन्छाएपछि अहिले लिपिङको पहिरो तथा भग्नावशेष भएका घरटहरा हटाउने र भासिएको सडक उकास्ने काम थालेको कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो।
दर्जनौँ मेसिन प्रयोग गरेर पहिरो तथा भग्नावशेष पन्छाउने काम भइरहेको छ। पहिरोग्रस्त इको क्षेत्रमा सडक मर्मतका लागि सरकारले ४८ करोड ४९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। तर सरकारले नेपाली ठेकेदारसँग भएको ठेक्का वैशाखमा तोडेर चिनियाँ निर्माण कम्पनी चाइना नाइन्टिन्थ मेटलर्जिकल कर्पोरेसनलाई ठेक्का दिएको थियो।
चिनियाँ ठेकेदार कम्पनी इको पहिरो क्षेत्रमा सडक मर्मत गर्न नआएपछि अहिले सडक डिभिजन कार्यालयले नै पहिरो पन्छाउने काम गरिरहेको भण्डारीले बताउनुभयो। उक्त रकमबाट इको पहिरो क्षेत्रमा करिब २०० मिटर सडकको पहिरो रोकथाम तथा सडक मर्मत–सुधार गर्नुपर्ने सम्झौतामा उल्लेख छ। तर चिनियाँ ठेकेदार कम्पनी अहिलेसम्म उक्त सडक मर्मत–सुधार गर्न आएको छैन।
भग्नावशेष भएका घरटहरा हटाएपछि र भासिएको सडक मर्मत–सुधार गरिएपछि लिपिङपारि अड्किएका ८५ वटा मालसामान बोकेका कन्टेनर तातोपानी नाकामा जाँचपासका लागि आउन सक्नेछन्। लिपिङवारि र इको पहिरोबिचमा अड्किएका मालसामान बोकेका कन्टेनर भने इको पहिरो पन्छाएपछि तातोपानी भन्सारमा जाँचपासका लागि पुगेका छन्।
नाका सडक पूर्ण रूपमा सञ्चालनमा आउन सके नजिकिँदो चाडपर्वका सामान तातोपानी नाकाबाटै राजधानी भित्रिन सक्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो। भासिएको लिपिङ बजारको सडक उकास्ने तथा इको र डाक्लाङको पहिरो दीर्घकालीन रूपमा नियन्त्रण गरी बाह्रै महिना नाका सडक सञ्चालन हुने व्यवस्था गर्न बस्नेतले सरकारसँग माग गर्नुभयो।गोरखापत्र अनलाइन



