
निरोज तोलाङे, ललितपुर। विभिन्न चारवटा राजनीतिक दलहरूको एकीकरण प्रयास तत्कालका लागि स्थगन गरिएको छ ।
एकताका सुत्राधार जनजागरण पार्टी नेपालका कार्यबाहक अध्यक्ष डा बि पी खनालले एक विज्ञप्ति जारि गर्दै जानकारी गराएका छन् ।
जारी विज्ञप्तिमा एकीकरण भई नयाँ बन्ने पार्टीमा सामुहिक नेतृत्व मान्ने, बहुमत-अल्पमतको चलखेल गर्ने उद्देश्यले गुटबन्दी नगर्ने, पार्टीलाई धर्म वा सम्प्रदायको नाममा सिमित गर्न नहुनेलगायतका विषयहरूमा सहमति हुन नसक्दा तत्काल एकता हुन नसकेकाे कुरा जनाइएको छ ।
जनजागरण पार्टी नेपालका कार्यबाहक अध्यक्ष डा बि पी खनालले प्रतिबद्धता जाहेर गरेबित्तिकै यो प्रक्रिया पुनः सम्पन्न गर्न सकिने र सो सम्भव नभए पनि आपसी सद्भाव, सहकार्य र आवश्यक पर्दा हदैसम्म बलिदान चुकाएर सहयोग गर्ने तत्परता व्यक्त गर्नु भएको छ भने एकता प्रक्रियामा मस्यौदा गरिएका सबै दस्तावेजहरूमाथि मस्यौदाकारले आफ्नो प्रतिलिपी अधिकार सुरक्षित राख्ने व्यहोरासमेत जानकारी गराउनु भयो ।
यता आमूल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरिले भने जारी बिज्ञप्तीबारे आफूलाई कुनै जान्कारी नभएकोले आफूहरु पुनः बसेर छलफल गरि यो विषयलाई टुंगोमा पुर्याउने बताउनुभएको छ ।
जारी बिज्ञप्तीको पूर्ण पाठ:
शालोम!
समान सैद्धान्तिक पहिचान बोकेका राजनीतिक दलहरूबीच एकता प्रयासको यात्रा चारवर्ष कटिसकेको सन्दर्भमा गत चैत्र ४ गतेदेखि सामुहिक छलफललाई राम्रो गति दिन सक्नुलाई ठूलो उपलब्धी मानिएको थियोे, तापनि जनजागरण पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी, पिपुल्स पार्टी नेपाल र नयाँ शक्ति अभियान नेपालबीच शुरू भएको एकीकरण प्रयासमा तत्कालका लागि गतिरोध उत्पन्न भएको व्यहोरा जानकारी गराउनुपर्दा दुःख लागेको छ! किन यस्तो हुन गयो भन्ने प्रश्नको जवाफमा एकअर्काप्रति आरोप-प्रत्यारोप गर्ने अस्वस्थ क्रियाकलाप नहोस् भन्ने तथ्यमा ध्यान दिँदै हाम्रोतर्फबाट आ.प.म.पा.ने. सँग सम्बद्ध साथीहरूको निम्ति शुभेच्छा व्यक्त भैरहने र निम्नबमोजिम लिखित प्रतिबद्धता प्राप्त हुनासाथ एकताको निम्ति जहिल्यै तयार रहने अपेक्षा गरेका छौँ:
१) पार्टीको रक्तप्रणाली मानिने घोषणापत्र, विधान, नियमावली र आचारसंहिता जस्ता महत्त्वपूर्ण दस्तावेजहरू तयारगरी सोहीबमोजिम पार्टी सञ्चालन गर्ने प्रतिबद्धता,
२) दल एकीकरण प्रक्रियामा सामेल सबै दल र आबद्ध साथीहरूलाई उचित आदर र सद्भाव कायम राखी नेतृत्वमा बहुमत-अल्पमतको चलखेल गर्ने उद्देश्यले गुटबन्दी नगर्ने प्रतिबद्धता,
३) नवगठित पार्टीलाई एकल धार्मिक-साम्प्रदायिक दायराबाट माथि उकासेर सम्पूर्ण नेपाली जनता र सिङ्गो नेपाल राष्ट्रको पक्षमा काम गर्ने राष्ट्रिय लोककल्याणकारी सेवक शक्तिको रूपमा स्थापित गर्ने प्रतिबद्धता,
४) देशमा राजनीतिक नेतृत्वकै कारण बर्बादी आउनुमा दलमा कायम रहेको “म”वादी नेतृत्वले प्रदर्शन गरिआएको अपारदर्शी, अहङ्कारी र फरकमत राख्ने सबैलाई निषेध गर्ने निर्णयशैली नै हो भन्ने तथ्य स्वीकार गर्दै विनम्रतापूर्वक आफूलाई सामुहिक नेतृत्वका लागि तयार गर्ने र सार्वजनिक मिडियाको दुरुपयोग गर्दै अर्को कुनै दल वा नेतालाई निराधार गालीगलौज नगर्ने प्रतिबद्धता ।
पुनश्च: यो एकता प्रयास स्थगन भएको हो, समाप्त भएको होइन। माथि उल्लेखित प्रतिबद्धता जाहेर गरेबित्तिकै यो प्रक्रिया पुनः सम्पन्न गर्न सकिने र सो सम्भव नभए पनि आपसी सद्भाव, सहकार्य र आवश्यक पर्दा हदैसम्म बलिदान चुकाएर सहयोग गर्ने तत्परता व्यक्त गर्दछौं । साथै यो एकता प्रक्रियामा मस्यौदा गरिएका सबै दस्तावेजहरूमाथि मस्यौदाकारले आफ्नो प्रतिलिपी अधिकार सुरक्षित राख्ने व्यहोरा विनम्रतासाथ जानकारी गराउँछु। धन्यवाद ।
बि.पी. खनाल
कार्यबाहक अध्यक्ष
जनजागरण पार्टी नेपाल



