खेलकुद

सान्चोको ह्याट्रिकमा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । डर्टमुन्डले पाडेरवर्नमाथि ६–१ को सानदार जित हात पारेको हो ।

बेन्टेलेर एरिना पाडेरवर्नमा आइतबार राति भएको खेलमा थप गोल थोर्गन हजार्ड र अचरफ हाकिमी र स्मेल्जर गरे । घरेलु टोलीका हुवी हनिमिएरले सान्त्वना गोल गरे । जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्नसँगको अंक दुरी ७ मा छोट्याउदै उपाधिको झिनो आशा देखाएको छ । डर्टमुन्डको २९ खेलबाट ६० अंक पुगेको छ । बायर्नको ६७ अंक छ । पराजित पाडेरवर्न १९ अंकसहित पुछारमा छ ।

घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै पकड जमाएपनि डर्टमुन्डले गोलको लागि दोस्रो हाफमा नै कुर्नुपर्दा सबै ७ गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । ५४औं मिनेटमा थोर्गन हजार्डले गोल गर्दै खेलमा गोलको खडेरी तोडेका थिए । इम्री क्यानको प्रहारलाई पाडेरवर्नका गोलरक्षक लियोपोल्डले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई हजार्डले खाली पोस्टमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा जुलियन ब्रान्डको पासमा सान्चोले गोल गर्दै अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा हुवी हनिमिएरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । महामेदको प्रहारलाई इम्री क्यानले पेनाल्टी बक्समा ब्लक गर्न खोज्दा ह्यान्ड गर्न पुग्दा रेफ्रीले पेनाल्टीका मौका दिएका थिए । जसलाई हुवील सदुपयोग गरे । त्यसको दुई मिनेटपछि नै हजार्डको पासमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई खेलमा ३–१ ले अघि बढाए ।

८५औं मिनेटमा मार्सेल स्मेल्जरको पासमा अचरफ हाकिमीले गोल गर्दै डर्टमुन्डलाई फराकिलो जिततर्फ अघि बढाए । ८९औं मिनेटमा स्मेल्जरले गोल थपेपछि डर्टमुन्डले खेलमा ५–१ ले अग्रता बनायो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सान्चोले ह्याट्रिक पुरा गर्दै डर्टमुन्डलाई ६–१ को सानदार जित दिलाए ।

बुन्डेस लिगामा उच्च गोलकर्ताको सुचीमा तेस्रो स्थानमा रहेका सान्चोको २७ खेलमा १७ गोल पुर्‍याएका छन् । जारी सिजनमा उनले ३९ खेलमा २० गोल गर्दा १४ असिस्ट पनि दिएका छन् । उनीभन्दा अघि बायर्नका लेवान्डोस्की (२९) र आरबी लाइप्जिगका टिमो वेर्नर (२४) अघि रहेका छन् । खेलमा सान्चाले आफ्ना टोलीका स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डको अभाव महसुस हुन दिएनन् ।

सान्चो र हाकिमीले आफ्नो गोल अमेरिकामा जातिय हिंसामा परि मृत्यु भएका जर्ज फ्लोएडप्रति समर्पित गरेका थिए । फ्लोएडको मृत्युपछि अमेरिकी सडकमा ठुलो विरोध प्रदर्शन भइरहेको छ । डेरेक चौविन (वर्दी) लाई फ्लोएडको हत्याराको आरोप लगाइएको छ । कारको मुनि च्यापिएको अवस्थामा रहेका उनलाई ति वर्दीधारीले घाँटीमा घुँडाले च्यापिरहेको दृश्य देख्न सकिन्छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button