खबर

चुनावको संघारमा ओबामा सक्रिय

वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको छ । आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लाग्नु भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ । गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृत्युपछिको नागरिक अशान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी हुनुभयो ।

ओबामाले “मतदान विरुद्ध बिरोध प्रदर्शन, राजनीति र सहभागिता विरुद्ध नागरिक अवज्ञा र प्रत्यक्ष कार्य” जस्ता विषयमा “इन्टरनेट बहस” लाई अस्वीकार गर्नु भएको छ ।

“अहिले यो नभए त्यो भन्ने होइन । यो दुबै पक्ष हो र यथार्थ परिवर्तन ल्याउनको लागि हो,” उहाँले टाउन हलमा भन्नुभयो । “हामीले समस्यालाई प्रकाश पार्नु पर्दछ र शक्तिमा रहेकाहरुलाई सोध्न सक्नु पर्दछ, तर हामीले त्यसलाई पनि व्यावहारिक समाधान र कानुनमा रुपान्तरण गर्नु पर्दछ।”

ओबामाले फ्लोयडको मृत्युका कारण भइरहेको विरोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गर्नुभयो । उहाँले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो । उहाँले “देशका सबै मेयरहरुलाई सुरक्षा परिचालनको बारेमा समीक्षा गर्न” आग्रह गर्दै “योजनाबद्ध सुधारहरुको कार्यान्वयन”लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

“हामी अहिले राजनीतिक बहसका बीचमा छौं,” ओबामाका लामो समयदेखिका मित्र एवं सल्लाहकार भ्यालेरी ज्यारेटले बताउनुभयो । “पूर्व राष्ट्रपति ओबामा पदमा नरहे पनि मुलुकभित्रको यस बहसमा संवाद गर्न इच्छुक हुनुहुन्छ ।”

यस गोलमेच बैठकमा ओबामाले अहिलेको अराजकता र १९६० को दशकको आन्दोलनको बीचमा समानता रहेकामा जोड दिनुभयो । तर उहाँले सर्वेक्षणहरुले धेरै अमेरिकीले आजका प्रदर्शनलाई समर्थन गरेको देखाए पनि एउटा सानो संख्याका उत्तेजक एवं हिंसात्मक कृयाकलापले मूल मुद्दालाई ओझेलमा पार्ने खतरा रहेको बताउनुभयो ।

तैपनि, उहाँले यस मुद्दामा विरोधको स्वर केही क्षण दबे पनि समाजभित्र विरोधी भावना यथावत रहिरहने खतरा छ भन्नुभयो । ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो ।

गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोनाभाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उदाङ्गो भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button