
काँकरभिट्टा,२६जेठ । अहिले सम्म कोरोना भाइरससंक्रमण शुन्य रहेको झापाको मेचीनगरमा सोमबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर मेचीनगर वडा नं ४ मा रहेको पशुपती माविको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । मेचीनगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मेचीनगर ४ मा रहेको पशुपती माविको क्वारेन्टाइनमा रहेका १३ जनाको गत जेठ २२ गते स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि कोशी प्रादेशीक प्रयोगशाला विराटनगर पठाइएको थियो ।
जस अन्तर्गत १ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको पीसीआर नतिजा भने नेगेटिभ आएको बताईएको छ ।
संक्रमित ब्यक्तिलाई मोरङ्गको कोभिड आइसोलेशन अस्पताल गोठगाउँ लगिएको फोकल पर्शन चौलागाईंले बताए।
मेचीनगरमा १ जनामा संक्रमण पुष्टि भएसंगै झापामा कोरोना संक्रमितको संख्या १४८ पुगेकोे छ ।
आजनै झापाको हल्दीबारी गाउँपालिकाका २ जना र गौरीगञ्जका ७ जनामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ ।



