खेलकुद

रियल बेटिसमाथि सेभियाको सहज जित

शुक्रबार, जेष्ठ ३०, २०७७

एजेन्सी – कोरोना महामारीपछि शुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो ।

घरेलु मैदान रामोन सान्चेज पिज्जुवान स्टेडियममा सेभियाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको १०औं मिनेटमा लुकास ओकम्पासको प्रहार पोस्टमा लागेर बाहिरिदा सेभियाले खेलमा अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा ओकम्पासले नै मौका खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पहिलो हाफमा पाहुना टोली रियल बेटिसले सेभियाको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफको शुरुमै जेसस नाभासको पासमा मुनिर इएल हाडडाडीको प्रहार सदुपयोग हुन नसक्दा सेभिया पुनः अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

मार्क बार्टाले लुक डि जोङमाथि फउल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा सेभियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ओकम्पास चुकेनन् । ६२औं ओकम्पासकै कर्नरमा अनमार्क रहेका फर्नान्डोले हेडमार्फत गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे। खेलमा २–० ले पछि परेपछि रियल बेटिसले बल पोजेसनमा पकड बनाउदै केही आक्रमण बुनेपनि गोल गर्न चुक्दा पराजित हुन पुग्यो ।

जितसँगै सेभियाले अर्काे सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाउने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको सेभियाको २८ खेलबाट ५० अंक पुगेको । समान खेलबाट ३३ अंक रहेको रियल बेटिस १२औं स्थानमा यथावत छ ।

ला लिगामा आज राति दुई खेल हुदैछ । ग्रानडा र गेटाफे राति ११ः१५ बजे तथा भ्यालेन्सिया र लेभान्टे राति १ः४५ बजे आमनेसामने हुदैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button