
जी एन शर्मा
यसै त झापा त्यसमा पनि महारानी झोडा बामपंथीहरुको त्यो ताकाको एक खाले अघोषित लाल किल्ला जस्तो थियो । म किशोर अवस्थामानै थिएँ । पारिवारिक वातावरण बामपंथीमय थियो । खास गरेर ठूल्दाजु बामपंथी हुनुहुन्थ्यो रहेछ । मैले सानै उमेरमा घरमा दाजुले बनाएका माओ, माक्र्स, लेनिन र स्टालिनका पेन्सीलले कोरेर भित्तामा राखेका फोटा देखेको थिएँ । मलाई भनिएको थियो यी कम्युनिष्टका महान नेता हुन् । त्यो समयमा महारानी झोडामा जति गुप्तरुपमा कम्युनिष्ट पार्टी त्यो बेलाको माले पार्टीको गतिविधी हुन्थ्यो बाहिर पञ्चहरुको जगजगी पनि त्यतिनै थियो ।
स्कूलचौन बजारमा शायद मलाई लाग्छ किटेर बामेको घर भनेको हाम्रोनै थियो होला । बजारमा पञ्च नेताका रुपमा मैले किशोरकालमै चिनेका मान्छे भनेका गजेन्द्र पौडेल र खगेन्द्र लिम्बु जसलाई जिल्ला सदस्य पनि भनेर चिनिन्थ्यो । बजारदेखि अलिक छेउछाउमा भने बामपंथी भनेर अभय सरको घर, जत्रुचौन तिर बाँस्कोटा गाउँमा केही, हरिमायाँ मैनालीको घर र जगन्नाथ खनालको घर लगायतका थिए । उता मैदान घोपामा देबी काफ्ले, रमेश खरेल, मेनुका काफ्ले लगायतलाई बामे भन्ने गरिन्थ्यो । धरधरे तिर शारदा भट्टराई, नारायण भट्टराई, ईन्द्र गौतम लयातका घरहरुलाई बामेहरुका घर भनिन्थ्यो यस्तै धेरै घरहरु महारानी झोडामा थिए जसलाई त्यो बेलाका पञ्चहरुले बामेका घर र बामे भनेर पुकार्ने गरेका थिए । मलाई थाहा छ त्यो समयमा बामपंथीले पञ्चलाई र पञ्चले बामपंथीलाई फुलो परेको आँखाले पनि हेर्न रुचाउँदैन थे । कति पटक त बामपंथी र पञ्चको झडप मैले सानै उमेरमा प्रत्यक्ष देखेको पनि छु ।
पञ्चहरुले बामपंथी भन्नासाथ दुख दिने , बिभिन्न काममा अवरोध गर्ने र बामपंथीहरुले पञ्चायतको बिरुद्धमा हाकाहाकी चुनौती दिएका थुप्रै बाल्य अनुभव मसँग अहिले पनि आलै र ताजै छन् जो महारानी झोडा र गौरादह आसपासमा हुने गरेका थिए । गजेन्द्र पौडेल जो अहिले भौतिक रुपमा हामीसँग हुनुहुन्न उहाँलाई म काका भनेर सम्बोधन गर्थेँ । उहाँ हाम्रो छिमेकी पनि हुनुहून्थ्यो । त्यो बेला मेरो बालशुलभ चेतमा पनि काका गजेन्द्र पञ्च हो र हामी बामे हौँ भन्ने लाग्थ्यो । उहाँका दुई छोरा निरन र नबिन छोरी टिका पनि मेरा साथी हुन् । हामी बालशाखाका कक फाईट, कहिलेकाँही फाईट र आसपास खेल्ने साथी हौँ ।काका गजेन्द्र पञ्च भएर पनि त्यति धेरै उग्र हुनुहुन्न थियो । छिमेकी र छोराहरु साथी भएकाले नजिकै भएपनि प्राय हाँस काटेका दिन म काकाकै घरमा खाना खाने र राती निरन र नबिनसँग सुत्ने गर्थेँ । कतिपटक काका मलाई जिस्क्याउनु पनि हुन्थ्यो बामपंथी गतिविधिका बारेमा सोध्न्ने गर्नु हुन्थ्यो तर मलाई थाहा थियो काका पक्का पञ्च हुन् हामी बामे हौँ म केही पनि भन्दिन थिएँ । थाहा नभए जस्तो गरेर मलाई के थाहा भनेर टारी दिन्थेँ । सानै भएर पनि होला उहाँले मलाई त्यो बेलाका ठूला बामेलाई भन्दा फरक एउटा छोराकै रुपमा ब्यबहार गर्नु हुन्थ्यो । तर यति चाही सत्य हो कि महारानी झोडाका बामपंथीले राजनीतिक रुपमा उहाँलाई खरो र कट्टर पञ्च भनेर चिन्ने गरेका थिए भने काका गजेन्द्र त्यो समयमा पक्का पञ्च पनि हुनुहुन्थ्यो । तर, अहिले मलाई लाग्छ गजेन्द्र पौडेलले एउटा पक्का , खरो, कट्टर पञ्चायती ब्यबस्थाको समर्थक भएर पनि कुनै आर्थीक लाभ लिनु भएन छ । शायद उहाँले चाहनु भएको भए आर्थीक र राजनीतिक पदको लाभ लिन उहाँलाई कुनै सकस पर्ने थिएन किनकी उहाँ त्यो क्षेत्रको पञ्चायतको हस्तिनै हुनुहुन्थ्यो ।
पञ्चायतको पक्का नेता भएर पनि उहाँको दैनिकी जिवनशैली सामान्य थियो । कुनै पनि मानिसले कुनै पनि राजनीतिक विचारधारालाई अगाल्नु अनौठो होइन । त्यो समयका गजेन्द्र पौडेलले चाहेका भए थुप्रै लाभ लिन सक्थे होलान् । छोराछोरीलाई राम्रो स्कूलमा पढाउने ब्यवस्था गर्न सक्ने थिए होलान, दुईचार ओटा घर घडेरी जोड्न सक्थे होलान अनि आफु पनि पञ्यातको कुनै माथिल्लो पदमा बस्न सक्थे होलान् तर उनी एक कट्टर पञ्च भएर पनि आफ्ना लागि कुनै लाभ लिएनन् यो गजेन्द्र पौडेलको जिवन आर्दशको अनुसरणयोग्य पक्ष हो । लामो समय पञ्याती ब्यबस्था रह्यो अनि गजेन्द्र पौडेल पनि लामो समय निष्ठासहितको पञ्च भनेर चिनिए तर उनले ब्यक्तिगत स्वार्थ र लाभको पक्ष कुनै लोभ र लालच गरेनन् यो पनि गजेन्द्र पौडेलको राजनीतिक जिवनको अर्को तारिफयोग्य पक्ष रहेको छ । मलाई काकाले बोलाउँदा कान्छा भनेर पुकार्ने गर्नु हुन्थ्यो मेरो घरमा त्यो बेला तत्कालिन माले पार्टीका मान्छेहरु आउने जाने गर्थे, जत्रुचौन, मैदान घोपा, बालुबथान तिरका धेरै गतिविधि मलाई थाहा हुन्थ्यो किनकी सानै उमेर भए पनि अग्रजहरुले मलाई बिश्वास गर्थे । काका कान्छाले केही कुरा फुस्काउँ छ कि भनेर कहिलेकाँही जिस्काए जस्तो गरेर सोध्नु हुन्थ्यो मलाई फेरि थाहा थियो बामेका कुरा काकालाई भन्न हुदैन म उसरीनै टार्ने गथ्र्येँ । त्यो समयको छिपछिपे राजनीतिक बुझाई र अहिलेको अलिक खुल्ला राजनीतिक बुझाईलाई हेर्दा लाग्छ वास्तवमा पञ्चहरु आफ्नो राजनीतिक मुल्य, मान्यता, आदर्श र निष्ठामा बलिया रहेका रहेछन् । सबैलाई त नभनौँ गजेन्द्र पौडेल जस्ता पञ्च नेताहरुबाट अहिलेका लोकतान्त्रिक ब्यवस्थाका हिमायती भनेर आफुलाई क्रान्तिकारी समाजवादी र प्रजातन्त्रवादी भन्नेहरुको पद लोलुप, निजि स्वार्थ, नातावाद जनताप्रतिको छलकपटलाई विचार गर्दा त्यो बेलाका गजेन्द्र पौडेलहरुबट अहिलेका पदलोलुप नेताहरुले राजनीतिलाई कसरी निष्ठा र मुल्यमा कायम गर्नु पर्ने रहेछ भनेर सिके फरक पर्दैन । काका गजेन्द्र पञ्च थिए , मानिसले कुनै पनि ब्यबस्थाको समर्थन र बिरोध गर्न पाउँछ ।शायद काका गजेन्द्रलाई पञ्चायत ठिक लाग्यो होला र उहाँ पञ्चायति ब्यबस्थाको पक्ष रहनु भयो होला तर उहाँले एउटा कहलिएको पक्को पञ्चको नाममा आफ्नो राजनीतक आदर्श र मुल्यलाई आर्थीक र पदको लाभसँग कहिल्यै जोड्नु भएनछ अहिले मलाई लाग्छ यदि गजेन्द्र पौडेलले चाहेका भए त्यो बेला आफ्ना लागि धेरै धन सम्पत्ति थुपार्न सक्ने रहेछन्, पञ्चायतको माथिल्लो तह सम्म पुग्ने पनि रहेछन् तर उनले आफ्नो राजनीतिलाई भजाएर आफ्नो निजि जिवनका कुनै लाभ लिएनन् उनको यो सुन्दर राजनीतिको पक्षलाई मुल्यको राजनीतिका रुपमा आज उनी हाम्रा सामु नभए पनि हामीले स्मरण गर्नै पर्छ ।
लामो समय पछि काकासँग काठमाण्डौमा भेट भएको थियो , भेट भएको पनि लामो समय भयो । केही बेर हामीले एक अर्काका बारेमा खबर सोध्यौँ । पहिलाको भन्दा काका निक्कै खस्कनु भएको रहेछ । पारिवारिक कुराकानी भए त्यस पछि हाम्रो भेट भएको थिएन । गएको जेठ २६ गते उहाँको निधन भएको दुखद खबर सुनेँ । फेरि एक पटक जिवन यात्राको फन्को महारानीझोडाको स्कूलचौन बजार पुग्यो । त्यो पुरानो स्मरणको चक्कर शुरु भयो काका गजेन्द्रको काठको घर, बजारतिर फर्केको ठूलो बार्दली, काका अक्सर त्यही राखिएको बेन्चमा बजार तिर फर्के खैनी पड्काउँदै गरेको संझनाले म फुच्चे बजारमा कतै बुरसुकी मार्दै पो छु कि जस्तो भयो । पञ्च भएर उनी रहे, आर्दशको राजनीति गरे, राजनीतिलाई कहिल्यै लाभमा बदलेनन् अनि आफ्नो मुल्य र मान्यतालाई पदसँग भजाएनन् उनै काका गजेन्द्रले ।यो सत्य हो हाम्रो जन्मसँगै हामीले हाम्रो मृत्युलाई साथी बनाएर लिएर आएका हुन्छौँ । फरक यति हो को कति खेर जाने हो । अहिले हामी बीच भौतिक रुपमा काका हुनुहुन्न तर उहाँमा रहेको राजनीतिक निष्ठा अनि मुल्यको राजनीतिले र बाल्यकालदेखि किशोरकाल सम्मको भेटको स्मरण मेरा लागि फेरि संझनाको तरेली बनेर रहनेछन् । स्वर्गीय काका गजेन्द्रप्रति भावपूर्ण श्रदाञ्जलि अनि शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना प्रकट गर्दछु !
0 21 4 minutes read



