
अषाढ ८, २०७७
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्ष चारलाई थप पकड बनाएको हो ।
भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा चेल्सीको पूनरागमन जितमा क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गरेको गोल सान्त्वाना बन्यो ।
खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले गोल खान पुगेको थियो । ४३औं मिनेटमा कोर्टनेले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमा डगलस लुइजको चलाखीपुर्ण चिप क्रसलाई कोर्टनेले सहजै गोल गरेका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले दोस्रो हाफको शुरुवातदेखि नै घरेलु टोलीमासथ दवाव सिर्जना गरेपनि पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । ६०औं मिनेटमा चेल्सीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान सिजर एप्लिक्वेटाको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।
त्यसको दुई मिनेटपछि कप्तान सिजरकै पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । सिजरको पासमा जिरुडले १२ यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक ओर्जन नेल्यान्डलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले २–१ को जित निकाल्दै महत्वुर्ण ३ अंक बटुल्न सफल भयो ।
जितसँगै चौथो स्थानमा रहेको चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी छोट्याउदै पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडलाई ५ अंकले पछि पार्दै अर्काे सिजनको च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३० खेलबाट ५१ तथा युनाइटेडको ४६ अंक रहेको छ । लेस्टरको ५४ अंक छ । पराजित भिल्लालाई रेलिगेसन दवाव बढेको छ । भिल्ला २६ अंक जोडेर १९औं स्थानमा छ ।hamrokhelkud/from



