
अषाढ ९, २०७७
एजेन्सी – साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको खेलमा बोलोग्नालाई २-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए ।
बोलोग्नाको घरेलु मैदानमा युभेन्टसले २२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगले पेनाल्टी दिएका थिए ।
उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए । रोनाल्डोको जारी लिग सिजनको यो २२ औं गोल हो । उनले गत सिजन गरेको २१ गोलको प्रदर्शनलाई लिगका ११ खेल बाँकी रहँदै सुधार गरेका छन् । रोनाल्डोले लगातार सातौं अवे खेलमा गोल गरेका हुन् ।
खेलको ३६ औं मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । उनले फेडेरिको बर्नाडेस्कीको ब्याक फ्लिकमा आएको पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे । ४० औं मिनेटमा रोनाल्डोको क्रसमा डिबालाले गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।
दोस्रो हाफको सुरुवातमै युभेन्टसले अग्रता बढाउने सुवर्ण अवसर गुमायो । रोनाल्डोले वन भर्सेस वनको स्थितिमा गोलरक्षकलाई चिप गर्ने प्रयास गर्दा बलले पोस्टको दिशा लिन सकेन । ५३ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीको प्रहार पोस्टमा लागेर फर्कंदा युभेन्टसले अग्रता बढाउन सकेन ।
७१ औं मिनेटमा फेडेरिकोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार आकासियो । ७३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ८१ औं मिनेटमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीको प्रहारले पोस्टको दिशा लिन नसक्दा खेलमा फर्कने अवसर गुमायो ।
खेलको ९० औं मिनेटमा रोनाल्डोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिए । डग्लस कोस्टाले दिएको क्रसमा रोनाल्डोको प्रहार गोलमा परिणत भएपनि कोस्टा त्यसअघि नै अफसाइड रहेको रेफ्रीको निर्णय थियो । खेलको इन्ज्युरी समयमा युभेन्टसका डिफेन्डर ड्यानीलो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।
यस जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता लिएको छ । हाल युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने लाजियो एक खेल कम खेल्दै ६२ अंकसहित पछ्याइरहेको छ । लाजियोले बुधबार चौथो स्थानको एटलान्टाको सामना गर्नेछ । बोलोग्ना २६ खेलमा ३४ अंकसहित १० औं स्थानमा छ ।hamrokhelkud/from



