
झापा । झापाको मेचीनगरमा रहेका दुई पत्रकार संस्था मेची बोर्डर जर्नालिष्ट एसोसिएसन र प्रेस क्लब मेचीनगरका बिच एकिकरण भएको छ । एकीकरण घोषणा कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पत्रकारहरुले देखेको लेख्नु पर्छ तर त्यो सत्य हुनु पर्छ भन्दै दुई संस्था बिचको एकीकरणको स्वागत समेत गरेको थिए । सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मैनालीले पत्रकारहरुको हक हित र व्यवसायिक सुरक्षाका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग पु¥याउन आफुले पहल गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे ।
काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा सम्पन्न एकीकरण घोषणा कार्यक्रममा पत्रकारहरु मोहन काजी, सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला र मुक्ती पौडेलले एकीकरणको औचित्य र आगमी योजनाको बारेमा मनतब्य राखेका थिए ।
मेची बोर्डर जर्नालिष्ट एसोसिएसन र पेस क्लब मेचीनगरका बिच भएको एकताबाट आगमी दिनमा प्रेस क्लब मेचीनगरलाई मात्र संस्थागतरुपमा मेचीनगर क्षेत्रका पत्रकारहरुको साझा संस्थाकोरुपमा स्थापित गराउने जानकारी गराईएको थियो । एकीकरण पछि दुई संस्था मध्ये प्रेस क्लबलाई साझा संस्थाकोरुपमा अगाडी बढाउने र आगमी तिन महिना भित्र क्लबको अधिवेशन गर्ने गरि आयोजक समिति समेत गठन गरिएको घोषणा गरिएको थियो । प्रेस क्लब मेचीनगर अधिवेशन आयोजक समितिमा तत्कालका लागि मुक्ती पौडेल संयोजक, ज्ञानेन्द्र निरौला सह–संयोजक र सचिवमा झुलन रेग्मी रहेकाछन् भने एकीकरण घोषणा सभामा उपस्थित मेचीनगरका सबै पत्रकार र संञ्चार संस्थासँग आवद्ध सदस्यहरुलाई अधिवेशन आयोजक समितिकोरुपमा राखिएको बताईएको छ ।

पूर्वी नेपालको सीमानाका काँकरभिट्टामा रहेका मेची बोर्डर जर्नालिष्ट एसोसिएसन र प्रेस क्लब मेचीनगर बिचको एकीकरणले मेचीनगर क्षेत्रमा रहेर क्रियाशिल पत्रकारहरुलाई थप उर्जा मिल्न सक्ने एकीकरण सभामा उपस्थित पत्रकारहरुले अपेक्षा गरेका छन् । सो कार्यक्रमको संचालन पत्रकार प्रकाश पौडेलले गरेका थिए भने एकीकरण सभाको अध्यक्षता मुक्ती पौडेलले गरेका थिए ।



