विचार

महाकाली सन्धिमा राष्ट्रघात भएको थियो कि, राष्ट्रियताको रक्षा भएको थियो ?

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भन्ने कम्युनिष्ट पार्टीमा अहिले चोखो हुने दाउपेच शुरु भएको छ । नेपालमा अहिले एउटा सजिलो फरमुला लागू भएको छ । राष्ट्रवादी हुनका लागि कि भारतको बिरोध गर्नु पर्नेकि कमरेडको पथलाई दास शैलीमा सलाम नमन गर्नु पर्ने, यदि कसैले भारतको बिरोध ठाडो रुपमा गर्दैन र उहाँ सर्वज्ञानीको सर्वगुण सम्पन्न पथलाई नतमस्तक बनेर शिरोधार्य गर्दैन बाँकी सबै राष्ट्रघाती , भारतीय एजेन्ट वा विदेशी दलाल हुन्छन् ।
करिब तीन वर्ष बित्न लााग्दा उहाँबाट कुरा र ठट्टाबाहेक खासै माखो मार्ने काम भएन तर उहाँसँग एउटा मन्त्र थियो राष्ट्रवादको । उग्र राष्ट्रवादको नारा उहाँले बेलाबेलामा घन्काउनु हुन्छ , बाँकी तीन बर्षको सबैलाई पत्तो नहोस । आफु को हुँ र के गर्दैछु अनि के बोल्दैछु उहाँले हेक्का नराखे पनि हुन्छ किनकी उहाँ खरो राष्ट्रवादी हुनुहुन्छ । राष्ट्रवादकै कुरा उहाँले गर्दा उही पुरानो महाकाली सन्धीबाटै उहाँको खोक्रो राष्ट्रवादको मलाई स्मरण हुन्छ । जसले राष्ट्रका लागि गर्नै नहुने काम सम्पन्न गर्नु भएको छ ताजुब लाग्छ उहाँको राष्ट्रवादको सानदार गिज्याउने देशभक्तिको अनुपम किर्तन सुनेर !
महोदय , तपाईले जे गर्नु पर्ने थियो त्यो भएन , एकलौटी गर्न खोज्नु भयो, सबै भताभुङ्ग हुन लाग्यो , हाम्रा कुरै सुन्नु हुन्न यो चालले त तपाई मात्र होइन सिङ्गो पार्टीनै जनबिश्वासबाट टाढिदैछ भनेर आफ्नै सहकर्मीहरुले गुनासो गर्दा । ए ! हो कि क्या हो ? भनेर उहाँ सोच्न सम्म चाहानु हुन्न । फेरि अर्को सपना भित्रको पनि कल्पनाको जन्म गराउनु हुन्छ र भन्नु हुन्छ । लौन मलाई त फलानाले पदबाट हटाउन लागे , षडयन्त्र भयो, राष्ट्रवादी माथि अन्याय भयो । गजब लाग्छ , मानौँ कि उहाँ बाहेक सबै राष्ट्रघाती हुन् उहाँ मात्र राष्ट्रवादको अति पवित्र जलले अभिषेक गरिएका एक मात्र पुजनिय हुनुहुन्छ । मेरो संझनाको चर्खा घुमेर फेरि उ बेलाको शनिश्चरे रोडमा भएको पार्टी कार्यालयमा पुग्छ , जहाँ उहाँले महाकाली सन्धि गरे बापत नेपालले वर्षेनी पाउने अरबको हिसाब आफ्ना कार्यकर्ताहरुलाई सेतो पार्टीमा लेखेर सुनाउँदै हुनुहुन्थ्यो , अहिले त्यो त्यो मातुभूमी माथि भएको राष्ट्रघातको हिसाब कति पुग्यो ? रिसानी माफ हुन्छ भने सोध्न पाईन्छ कि ?
उहाँको अर्को गजबको राष्ट्रवादको कैरन हामीनै गर्ने गर्छौ । नाकाबन्दीको बेलामा उहाँलाई कुनै कुराको कमि थिएन । उहाँको ईच्छा मात्रै भए पुग्थ्यो सबै कुरा सामुन्नेमा आउँथे । नाकाबन्दीको प्रत्यक्ष मारमा त हामी नागरिक परेका थियौँ । जे जे भोग्नु परेको थियो त जनताले थियो ।तर, फेरि हल्ला पिटिन्छ उहाँ राष्ट्रवादको पक्षमा उभिने महान भनेर ।नाकाबन्दीको सास्ती खेप्ने जनता, नाकाबन्दीको भोगाई र पीडा सहने जनता भनिन्छ उहाँ मात्र फेरि राष्ट्रवादी यो आफैमा नमिल्दो छैन र ? यति राष्ट्रप्रति त्याग देखाए त जनताले उहाँले त नागरिकको जति कष्ट भोग्नु भएन होलानी ? नागरिकको ध्यान अर्कातिर मोडिदिन उहाँ निक्कै सिपालु हुनुहुन्छ भन्ने सत्य फेर उहाँले देखाउनु भएको छ ।
नेपाली जनताले भोट दिएर , संसदबाट निर्वाचित भएर उहाँ त्यो ठाउँमा पुग्नु भए जस्तो लाग्छ फेरि उहाँनै भन्नु हुन्छ अरुले मलाई हटाउन आँटे, आँखामा आँखा मिलाउन सक्ने त मै मात्र हुँ , षडयन्त्र भो, यो कस्तो आश्चर्य लाग्ने भद्दा मजाक हो, उहाँलाई त्यहाँ पु¥याउने नेपाली जनता हुन् अनि अर्काले षडयन्त्र गर्दा कसरी उहाँको कुर्सी जान्छ ? विचित्र विचित्रका कथा जोड्न उहाँले आरम्भ गर्नु भएको छ , आफ्नै मित्रहरुले आफ्ना कामप्रति गरेका असन्तुष्टिहरुलाई उहाँ षडयन्त्र देख्नु हुन्छ, उहाँका बारेमा गरिएका सकारात्मक आलोचनालाई राष्ट्रघात देख्नु हुन्छ अनि एकपटक फेरि बेतालमा तर तोडले ठोक्नु हुन्छ राष्ट्रवादका डम्फु सबैको ध्यान र मन उहाँ तिर तान्न खोज्नु हुन्छ ।उहाँले पटक पटक गरिरहुनु भएको राष्ट्रप्रतिको अगाध स्नेह र प्रेमलाई महाकाली सन्धिका बेलामा उहाँबाट गरिएका र भनिएका कामको तुलना गर्दा फेरि लाग्छ उहाँको यो नाटक कसका लागि , के काल लागि र कतिञ्जेलका लागि हो ?
उहाँका औँलाले आज जसलाई राष्ट्रघाती देखाईरहेकाछन् , एक पटक नियालेर हेरौँ त चारओटा औला कता फर्केकाछन् । आफ्नो बारेमा आलोचना सुन्न नसक्ने, आफ्ना गल्ती र कमजोरीका बारेमा कसैले यो मिलेन भन्यो भने षडयन्त्र भो भन्ने अनि आफु बाहेक बाँकी सबैलाई राष्ट्रघातीको संज्ञा दिने उहाँलाई मेरो यति मात्र प्रश्न कमरेड महाकाली संन्धिमा राष्ट्रघात भएको थियो कि राष्ट्रियताको रक्षा भएको थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button