
१८ असार २०७७
बिर्तामोड । झापाको बिर्तामोडमा आज (बिहिवार )नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) कार्यकर्ता र समर्थकहरुले सरकारको समर्थनमा प्रदर्शन गरेकाछन् । झापा जिल्लाका अगुवा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका हुन् ।उनीहरु अहिले नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)का बिभिन्न कमिटीका समेत जिम्मेवारीमा रहेकाछन् ।
वर्तमान सरकारका प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र बाहिरबाट अनावश्यक घेरावन्दी गरिएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। केहि दिनदेखि ओली सरकार विरुद्ध भइरहेको षडयन्त्र विरुद्ध खबरदारी गर्दै अहिलेको अवस्थामा ओली सरकारको विकल्प नरहेको समर्थनमा उत्रीएकाहरुको जिकिर रहेको छ । उनीहरुले जनताको अभिमतले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीलाई बिना कारण हटाउन खोज्नु दुर्भाग्य हुने चेतावनी समेत दिएका छन् ।

झापाको बिर्तामोडमा रहेको मुक्तिचोकमा भेला भएका युवाहरुले नयाँ प्रधानमन्त्री आम निर्वाचन पछि मात्रै बन्ने हो भन्दै अस्थिरता निम्त्याउनेहरुलाई होसियार हुन चेतावनी दिइएको छ । उनीहरुले ओली सरकार जनताको सरकार रहेको भन्दै अनावश्यक झमेला सिर्जना नगर्न आग्रह गरेका थिए ।
प्रदर्शनमा सम्बोधन गर्दै नेकपा झापाका जिल्ला सदस्य टिका मंग्रातीले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । मंग्रातीले भने, झापाली नागरिकहरु तपाईको समर्थनमा छौं, अघि बढ्नुहोस् । नेता मंग्रातीले प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल ‘डेट एक्स्पायर’ नेता भएकाले जनताले उनीहरुबाट अब कुनै आशा नगरेको सम्बोधनका क्रममा भनेका छन् । उनले यसअघिका प्रधानमन्त्री र पार्टी नेतालाई जनताले जाँच गरिसहेको बताउँदै उनले जनताको चहाना विपरित प्रधानमन्त्री फेर्न खोजेमा ठुलो दुर्घटना हुने चेतावनी दिए ।

मुलुक संकटमा रहेका बेला नेताहरुबाट हदैसम्मको निच व्यवहार भएकोले नेताहरुलाई सुध्रिन समेत झापालीहरुले अपील गरेका छन् । ओलीको समर्थनमा भेला भएका सबै कार्यकर्ता र समर्थकहरु पूर्व एमालेका ओली निकटहरु मात्र रहेका देखिन्थ्यो ।



