विचार

जनमतको धज्जी उडाउँदै छन् ,नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)भन्नेका नेताहरु !

थाहा छैन ,यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने पार्टी कति कम्युनिष्ट विचार, सिद्धान्त र दर्शनले निर्देशित छ । तर, यति चै पक्का भएको छ यो पार्टीमा विचारको बहस होइन जुँगाको कमाल द्धन्द चलेको छ भनेर । युद्ध, आन्दोलन, नारा जुलुषबाट आजित भएका थिए नेपाली जनता । सधैको अल्मतको सरकार , यो अल्पमतको सरकारका नाममा तर मार्नेहरुलाई कुनै समस्या थिएन । तर, जनतालाई भन्ने एउटा बहाना थियो,स्थिर सरकार भएन र देशले बिकास र निकास पाएन भनेर ।
पञ्च, काँग्रेस, गठबन्धनबाट वाक्क भएका जनताले उ बेलको एमाले र माओवादी मिल्छौँ भने पछि ढाँटको निम्तो खाईपत्याउन भनेर भोट हाले जिताए पनि ।
अब केही होला कि भन्ने छिपछिपे र धिपधिपे आश थियो आम जनतामा ।
त्यो बेलाका दुई पार्टीले आफुहरु एक बन्ने भने , पार्टीको नाम पनि राखे नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सरकार पनि बनाए , जनतामा आश बाँकी थियो । झण्डै दुई तिहाईको सरकार त्यसमा पनि कम्युनिष्टको सरकार, सरकारमा जानेहरुको ताउरमाउर पनि कमको थिएन । हुन्छ कि क्या हो ? होला कि त भन्ने मधुरो आशमा नागरिक थिए ।
सरकारमा जानेहरु गए, के के हुनु पथ्र्यो त्यो पनि भए तर पात्रहरु केही परिवर्तन भए प्रवृति फेरिएन । कुर्सीहरु नयाँ पुराना भए होलान् तर मानसिकता जस्ताको तस्तै भयो । शुरुमा भनिएका नाराहरुलाई सानदार सपनाको रुपमा चित्रण गरियो, सपना देख्नु पर्छ , सपनाले बिपना ल्याउँछ भनेर सपना र बिपनालाई एउटै जस्तो बनाउन खोजियो तर कुरो उही जस्ताको तस्तै । बालुवाटारदेखि तुम्लिङ्गटार सम्म उही पुरानै ढाँचा र ढर्रा गजधुम्म परेर बस्यो । हुक्केहरुको घुइँचो घटेन सबैले आफ्ना किला जरा छेउछाउमा तयार पारे जनमतलाई भुलियो, नागरिकको मतलाई आफ्नो आराम र ऐसको सोफाको रुपमा रुपान्तरण गरियो । गरियो मात्र गफ अनि गफको उधुम प्रचार ।
कम्युनिष्ट सरकारका गतिविधि र कामहरु देखेर कति सपनामा पनि मुर्छा परे होलान् । अघिल्लो दिन महान बनाईएकाहरु भोली पल्ट भ्रष्ट्रचारको पहाडले किचिए, जता फर्के पनि आफ्ना शिष्यहरुको बथान बाहेक केही सोचिएन । नाम कम्युनिष्ट सरकारको भयो काम आफु र आफ्ना कैची बटमका बाहेक कसैलाई सोचीएन ।
करिब तीन वर्ष बित्न लागेको छ कसैले कम्युनिष्ट सरकारले गरेका काम सोधे , मनोरञ्जनात्क किस्सा बाहेक , पार्टी भित्रको अन्तरकलह बाहेक, गुट र उपगुटको रोनाधोना बाहेक संझनलायक खासै भएन । बहुमतको सरकार र कम्युनिष्ट पार्टीको काम जनमतलाई शीरमा राखर गर्नु पर्ने जनमूखि काम भन्दा कसले कुन पगरि लगाउने ? कसलाई कुन पगरि दिनेमै सिमित रह्यो । यो सरकारले केही गरेन भन्नु हुदैन आफ्ना दैनिक कर्म गरेकै हो , फाटफुट काम पनि गरेकै हो तर के, एउटा श्रमजिवि पार्टीको बहुमतको सरकारले गर्नु पर्ने काम के गरेको छ भन्दा के भन्ने ?
सुनेजाने सम्म कम्युनिष्ट पार्टीमा छलफलमा स्वतन्त्रता र काममा एकरुपता हुन्छ अरे तर सरकारको गठनसँगै यो पार्टी र सरकारबीचको सम्बन्धलाई हेर्दा लाग्छ , कुनै बिपक्ष र सरकार छ या बिपक्षी पार्टीले सरकारको बिरोध गरेको छ वा पार्टी भित्रको पनि एउटा समूहले मात्र सरकार चलाएको छ ?आफैमा अन्यौल बनेको नेकपा र नेकपाको सरकारले जनमतको खिल्ली उडायो भन्दा कतै राष्ट्रघातीको तक्मा त पाईदैन ? भन्न पनि सोचेर भन्ने बेला भएको छ । मौषम वर्षाको भए पनि समय यस्तो आएको छ कि कसैलाई कसैका कुरा मन परेन भने उसालाई सिधै राष्ट्रघातीको प्रमाण पत्र थमाउन थालिएको छ । अहिले सरकार नेकपाको छ, विवाद पनि नेकपाकै नेताहरुमा छ, कसैले पद छाड्रनै पर्छ र कसैले कुनै हालतमा छाड्नु हुदैन भन्नेहरु पनि यही पार्टीकै छन् । तर, कसैले किन भन्दैन यो जनमतको पनि अपमान हुदैछ भनेर,कसैले किन भन्दैन जनताले गरेको मतदान माथि घोर अन्याय भएको छ भनेर ? के यो सरकार लोकसेवा दिएर बनेको हो? के सरकार आफ्नो पालो आएर सरक्क बनेको हो या नेपाली जनताले अब त केही होला कि भनेर दिएको मतदानबाट मात्रै बनेको हो ? कसैले किन भन्दैन यो कलहको चेपुवामा जनताका साँचा सपनाहरु धुलिसात् बन्दैछन् भनेर ? के सबैलाई आफ्नो गुट र आफ्नो खाईपाई आएको बिर्ता मात्र बचाउनु छ भने, हिजो जनताका सामु गएर बोलेका र भनेका सुन्दर सपनाको क्षतीपुर्तीको भरपाई नेकपाका कुनकुन नेताले भर्ने हो कसैले हिम्मत गर्न सक्छ ? होइन हामीले पार्टी एकता गरेकाछौँ अब देश र जनतालाई एकपटक सेवा गर्ने मौका दिनुहोस भनेर मत मागेर सरकारमा पुगेका नेता र पार्टी चलाउने नेताहरुलाई तिम्रा गुट र उपगुटको स्याहार सुसार गर्न नेपाली जनताले मतदान गरेका होइनन् भन्ने सत्यलाई बेलैमा बझ्न ढिला गर्ने हो भने भोलीका दिन केपी ओली हुन् या पुष्पकमल दाहाल कुन अनुहारले नेपाली जनताका अगाडि देखा पर्ने हो एक पटक सोच्नुहोस थोरै भए पनि समय छ । होइन भने यो वा त्यो का नाममा आ आफ्नो आरती गराउने काम बन्द गराउनु होस यसैमा नेकपाको हित छ , बाँकी यहाँहरुकै मर्जी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button