खबर

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो, बोक्सीको आरोप लगाउनेलाई तीन वर्ष कैद

२४ असार २०७७
विकास भट्टराई, काठमाडौं

बोक्सीको आरोपमा एक महिलालाई गोबर खुवाई कुटपिट गर्ने धादिङका चार जनालाई उच्च अदालत, पाटनले जनही ३ वर्ष कैद गरी पीडितलाई आरोपित प्रत्येकबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीशहरु टेकनारायण कुँवर र वासुदेव आचार्यको संयुक्त इजलासले आरोपित चार जनालाई जनही तीन वर्ष कैद गरी एक लाख रुपियाँका दरले पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो । यसअघि धादिङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आरोपित सबैलाई सफाइ दिएको थियो ।

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–४ की सेतीमाया लायो मगरलाई २०७५ साल कात्तिक २८ गते चार जना स्थानीयबासी मिलेर बोक्सीको आरोपमा गालामा झापड हानी मुखमा गोबर कोचिदिएको आरोप लागेको थियो ।

ती महिला बस्ने गाउँका धनबहादुर थापा मगर, खोलबहादुर थापा मगर, यमबहादुर थापा मगर र हर्कबहादुर थापा मगरले त्यस बेला ती महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेका कारण कानुनबमोजिम सजाय गर्न माग गरी धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो अदालतले दाबी नपुग्ने उल्लेख गर्दै उनीहरुलाई सफाइ दिएको थियो ।

धादिङ जिल्ला अदालतले सफाइ दिने कार्य नमिलेको उल्लेख गर्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेका थिए । सो अदालतले प्रतिवादीमध्येका चारै जनाले सेती मायालाई बोक्सीको आरोपमा अमानवीय कार्य गरेको विभिन्न प्रमाणबाट पुष्टि भएको ठहर गरी उनीहरु सबैलाई तीन वर्षका दरले कैद गर्ने फैसला गरेको हो ।

फैसला गत माघ १३ गते भए तापनि मंगलबार मात्र फैसलाको पूर्ण पाठ तयार भएको हो । प्रत्येकबाट एक लाख रुपियाँका दरले क्षतिपूर्ति भराई ३० हजार रुपियाँ जरिवाना हुनेसमेत फैसलामा उल्लेख गरिएको छ ।

अदालतले यो फैसला तीन महिनाभित्र कार्यान्वयन गर्न पनि आदेशमा उल्लेख गरिएको छ । सोबमोजिम बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेका ठहर भएका ती चार जनालाई तीन महिनाभित्र पक्राउ गरी थुनामा राख्नुपर्ने कर्तव्य सरकारी पक्षको हो ।

फैसलामा पीडितलाई पुगेको भौतिक, शारीरिक, मानसिक, सामाजिक र भावनात्मक क्षति एवं कसूरदारको आर्थिक स्रोत र अदालतले उपयुक्त ठह¥याएको अन्य कुराको आधारमा पीडितलाई क्षतिपूर्ति तोकिएको उल्लेख गरिएको छ ।

बोक्सीको आरोपमा नेपाललगायत अन्य मुलुकमा अमानवीय ब्यवहार गर्ने प्रचलन अझै पनि कायम रहेको फैसलामा जनाइएको छ । फैसलामा उल्लेख भएअनुसार तान्जानियामा हरेक वर्ष बोक्सीको आरोपमा ६ सय जना जति मानिस मारिने गरिएको छ । सन् २००५ देखि सन् २०११ सम्म बोक्सीको आरोपमा राता आँखा भएका ३ हजारजतिलाई सो देशमा हत्या गरिएको फैसलामा जनाइएको छ ।

भारतमा हरेक वर्ष १ सय ५० देखि २ सय व्यक्ति सोही आरोपमा मारिने गरिएको फैसलामा उल्लेख गरिएको छ । जसमध्ये झारखण्डमा मात्रै ५०÷६० जना महिलाले ज्यान गुमाउने गरेको एक अनुसन्धानले देखाएको फैसलामा भनिएको छ । फैसलामा भारतको पूर्वी राज्यहरुमा मात्र सन् २००१ देखि सन् २००६ सम्म ७ सय महिलाले बोक्सीको आरोपमा ज्यान गुमाएको पनि उल्लेख गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button