खेलकुद

कोस्टाको निर्णायक गोलको एट्लेटिकोको जित

आइतवार, अषाढ २८, २०७७

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट दुई गोलले मान्यता नपाएपनि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसमाथि १–० को झिनो जित हात पारेको छ ।

१० खेलाडीमा सेमटिएको घरेलु टोलीका लागि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अंक दिलाए । यो जितसँगै एट्लेटिकोले अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलको २२औं मिनेटमा एन्जल कोरेराले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एट्लेटिको अग्रता लिनबाट चुकेको थियो ।

कप्तान कोकीको प्रहारलाई गुइडो रोड्रिग्वेजले ब्लक गर्दै गरेको थियो । रिवाउन्डमा कोरेराले तेस्रो प्रयासमा भलीमार्फत गोल गरेपनि उनको प्रहार मार्काेस लोरेन्टको हातमा लागेको थियो ।

त्यसपछि रियल बेटिसले तीन आक्रमण बुनेपनि एट्लेटिकोका गोलरक्षक जान ओब्लाक बाधक बने । ३५औं मिनेटमा अल्भेरो मोराटाको गोलले पनि भिएआरको मान्यता पाएन । कोकीको पासमा मोराटाले गोल गरेपनि उनी अफसाइड ठहरिएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नेविल फेकिरले अवसर पाएपनि चुकाउदा भ्रमणकारी टोलीले खेलमा अग्रता लिने अवसर गुमायो ।

५७औं मिनेटमा मारियो हेर्मोसो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो । लोरेन मोरोनलाई अनावश्यक ट्याकल गरेपछि रेफ्री जोसे लुइस गोन्जालेजले मारियोलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

१० खेलाडीमा समेटिएपनि डिएगो कोस्टाले ७४औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । यान्निक कारास्कोको फ्रिकिकलाई कोस्टाले १० यार्डबाट हेडमार्फत गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयमा एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले गुइडो रोड्रिग्वेजको प्रहारलाई उत्कृष्ट बचाउ गरेपछि एट्लेटिकोले १–० को जित दर्ता गर्न सफल भयो ।

जितसँगै तेस्रो स्थानमा रहेको एट्लेटिकोको ३६ खेलबाट ६६ अंक पुगेको छ । पराजित रियल बेटिस ४१ अंक जोडेर १३औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button