दमौली । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पाल्नुभएको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो ।
नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “पक्स समूहको काप्रिपक्स भाइरसबाट देखिने यो रोग तनहुँमा पनि फेला परेको छ”, डा श्रेष्ठले भन्नुभयो, “नमूना सङ्कलन गरेर ल्याएका छौँ, परीक्षणपछि थप पत्ता लाग्छ, तर सामान्यरूपमा हेर्दा यो लम्पी स्क्रिन डिजिज नै हो ।”
जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत् आग्रह गरिएको छ । “जिल्लाका अन्य ठाउँबाट यो रोगको बारेमा किसानले हालसम्म जानकारी नगराए पनि यो रोग नफैलिएला भन्न सकिन्न”, श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई सयांँ गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा श्रेष्ठले जानकारी दिनुभयो ।



