खबर

निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप

साउन २१, २०७७
लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो सातासम्मको म्याद थप गरेको छ ।

बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ गते (सेप्टेम्बर अन्तिम)सम्मको म्याद थप गर्ने निर्णय गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको हो । निजगढ विमानस्थल आयोजना हेर्ने लगानी बोर्ड कार्यालयका अधिकृत रत्नेश शशीले प्रस्ताव पेस गर्न जुरिच इन्टरनेसनललाई अन्तिम मौका दिइएको जानकारी दिए । उनले दिएको समयभित्र सो कम्पनीले प्रस्ताव पेस गर्न नसकेमा अर्को विकल्प खोजिने बताए । लगानी बोर्डको बैठकले यो निर्णय गरेको जोशीको भनाइ छ ।

उनका अनुसार यसअघि प्रस्ताव पेस गर्न चैतसम्मको म्याद दिइएको थियो तर रुख काट्नेबारे सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश र विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण जनाउँदै सो कम्पनीले अहिलेसम्म प्रस्ताव पेस गर्न सकेको थिएन ।

यसअघि वैशाख २८ गते बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थल निर्माण गर्न निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्न र सम्झौता प्रक्रिया पूरा गर्न लगानी बोर्डलाई निर्देशन दिने निर्णय गरेको थियो । समितिको सो निर्देशनपछि बोर्डले समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग प्रस्ताव माग गरेको हो । गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button