विचार

डरको समयमा दरको सजगता

डा. नम्रता पाण्डे

बाबाको घर खरले छा’को
पराईको घर करले आ’को
आमा तिम्रो सम्झना आइरा’छ
भेट्न आउँथे मेरी आमा बाटोमै भाइरस
तीजमा आउँथे मेरी आमा बाटोमै भाइरस

शिव अखेलीले रचना गर्नुभएको तीज गीत यो वर्षका लागि मौलिक र समसामयिक लाग्यो । नेपाली हिन्दु महिलाले धुमधामले मनाउने तीजको पर्व र दर यो वर्ष डरको अवस्थामा छ ।
हाम्रा हजुरबुवा वैद्य हुनुहुन्थ्यो । हामी बच्चा अवस्थामा हुँदा हजुरबुवाले जडीबुटी, घाँसपात बटुलेर आयुर्वेदिक औषधि÷गोली बनाउनुभएको धमिलो याद आजसम्म पनि छ । जस्तासुकै किसिमका बिरामी आए पनि नाडी छाम्नुहुन्थ्यो र तिनै गोली दिएर पठाउनुहुन्थ्यो । सबैलाई निको पनि हुन्थ्यो, बिरामीहरू निको भएपछि घिउ, तरकारी, दूध केही पोको बोकेर धन्यवाद व्यक्त गर्न र हजुरबुबालाई भेट्न आउँथे । तीजको दर खाने अघिल्लो दिन नै फुपूहरू आइपुग्नुहुन्थ्यो । दर खाने दिन आउन ३–४ दिन बाँकी हुँदै दाजुभाइ या भदाभदै लिन आइदिए नि हुन्थ्यो नि भनेर बाटो हेर्ने गरेको सम्झना आजकल पनि फुपूहरू बताउनुहुन्छ ।
चैत–वैशाखदेखि कृषिकर्म, खेतीपातीमा व्यस्त भएका फुपूहरूलाई तीजकै समय थियो थकान मेटाउने र माइतीघरमा आमाले पकाएको पकवान्न खाएर वरपरका चेलीबेटीसँग पनि भेटेर रमाइलो गर्ने । हजुरआमा र आमा भान्छामा अनादीका खाजा, घिरौँलाको तरकारी, भिण्डी, करेलाको अचार बनाउन व्यस्त हुँदा हजुरबुवा भने छोरीबेटी सबैलाई बटुलेर भलाकुसारी गर्नुहुन्थ्यो । हामी भुराभुरी, ठूलाबडाले गरेको कुरा बुझ्दैनौँ जस्तो लागेर वास्ता नगरे पनि कुनै–कुनै कुरा त कानमा परिहाल्थे । अहिले याद आउँछ हजुरबुवाले गर्ने भलाकुसारीमा बीचबीचमा अर्तीमूलक सन्देश हुन्थे– समय बलवान् हुन्छ, अस्तित्वमा कतिबेला के आइलाग्छ थाहा हुन्न, समय सधैँ एकनास हुन्न, कस्ता महामारी कतिबेला आइलाग्छन् थाहा हुन्न । आफ्नो कर्म गरेर खानलाई दुःख मान्नुहुन्न । खेतीकिसानी गर्नेलाई कहाँ सुख हुन्छ र तर रोग पनि त लाग्दैन नि ! छोरीचेलीहरूलाई ढाडस दिँदै उत्प्रेरणात्मक सन्देश दिनुभएको सार्थकता र सकारात्मकता आज आएर मननयोग्य लाग्छ । हजुरबुवाको वैद्य औषधि तिनै गुर्जो, धएँरो, बेसार, अदुवा, सुठो, महलगायतका सामग्रीबाट बनेका हुन्थे जसको महत्व कोरोना कहरमा यति फैलियो कि विदेशीले समेत अनुसरण गर्न थालेका छन् ।
तीज र दर खाने प्रचलन हाम्रो संस्कार र परम्परा हो तर हिजोको परम्पराको यथार्थ र आजको रहरको शैली र महत्व भिन्न छ । त्यसमा पनि कोरोना कहरको यो वर्ष दरभन्दा धेरै डर बसेको छ मन मस्तिष्कमा । विगत छ महिनादेखि विश्वलाई आक्रान्त पारेको कोरोनाले विस्तारै विस्तारै हामी नेपालीलाई अरू सचेत रहन झस्का दिइरहेको छ । दैनिकरूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । स्वास्थ्य सुरक्षा सचेतनाबाहेक विकल्प छैन किनकि औषधि बनिसकेको छैन । विश्वमै कोरोनामुक्त भइसकेको छैन भन्ने चेतावनीका खबर दैनिक आइरहेका छन् । यस्तो अवस्थामा घरभित्रै सुरक्षित रहने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने, भीडभाड नगर्ने, भौतिक दूरी कायम राख्ने, मास्कको नियमित प्रयोग र साबुनपानीले मिचीमिची हात धुनुको विकल्प छैन । यसमा सतर्कता, धैर्य र सहजता अपनाउनैपर्छ । अन्यथा कोरोनाको सङ्क्रमण हाम्रै कारणले भयावह भएर फैलिन बेर छैन ।
माइत नजाने त ?
हो, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने भनेको माइत पनि नजाने नै हो । दर खानका लागि, तीजमा आमाबुवा माइती भेट्नका लागि, चेलीबेटी मिलेर नाचगान गर्नका लागि घरबाहिर निस्कनु या घरमै भीडभाड जम्मा हुनु अत्यावश्यक र बुद्धिमानी कार्य हुँदैन । हामी घरबाट निस्केर बाटोमा जाँदा कतिपय थाहा नभएका सङ्क्रमितसँग संसर्ग हुनसक्छ । स्वास्थ्य सुरक्षाको ‘वारेन्टी’ हुँदैन, कोबाट कतिखेर कसरी सङ्क्रमित भइन्छ यकिन गर्न सकिँदैन । त्यसैले आफू माइत जानु भनेको माइतीलाई नै सङ्क्रमित पार्न जोखिम उठाउनु बराबर हो । कोरोना सामान्य सरुवारोग होइन । यो महामारी अपरिचितबाट अपरिचितलाई सर्ने र आफ्नाबाट आफ्नालाई नसर्ने भन्ने होइन । आफ्नै माइत जान त के हुन्छ र ? जस्ता प्रश्न गर्नु र जिद्दी गरेर गएरै छाड्छु भन्ने भावना कायम राख्नु अबुझ र चेतनाहीन बन्नु हो । दाजुभाइ, दिदीबहिनी भन्दै सबैतिरबाट जम्मा भएर भीडभाड गर्नु स्वास्थ्यलाई जोखिममा पार्नु हो । म त एक्ली छोरी हुँ बुवाआमालाई भेटेर आइहाल्छु भन्ने मानसिकता पनि घमण्डीपना नै हो । त्यसैले आफू, बुवाआमा र माइती, चेलीबेटी र आफन्त सुरक्षित र स्वस्थ रहन सक्यौँ भने अर्को वर्ष पनि तीज आउँछ र दर खान पाइन्छ । समय र परिस्थिति अनुसार आफूलाई धैर्यवान् बनाउनेजस्तो कला र गुणवत्ता अरू के होला र ?
मन्दिर नगए पाप लाग्दैन
विगतका वर्षमा हामीलाई महामारीको चिन्ता थिएन त्यसैले मन्दिर जानु, मन्दिरमा पूजाअर्चना गर्नु, मन्दिरका पुजारीलाई टीकाटालो, दक्षिणा दिनु र पण्डितको मुखारविन्दबाट मन्त्रोच्चारण गरेर गोदान गरेपछि मात्रै व्रत पूर्ण हुन्छ भन्ने जस्ता जेजे मान्यता थिए, त्यो गर्न सहज थियो । त्यसका लागि कसैबाट रोकतोक थिएन तर आज परिस्थिति फरक छ । विगतमा तीन महिना बन्दाबन्दी भएर हामी घरभित्र बस्यौँ, मन्दिरका ढोका पनि बन्द थिए । हामी मन्दिर पनि गएनौँ, बाहिर निस्केनौँ र सुरक्षित रह्यौँ । विगत तीन महिनामा हामीलाई पाप लाग्यो ? लागेन, हामीले आफैँलाई सुरक्षित राख्यौँ र अरूलाई पनि सुरक्षित रहन मद्दत पु¥यायौँ । मनको द्वार मन्दिर हो, मनबाट हामी पवित्र सोचभित्र पु¥याउँछौ भने त्यो धार्मिकता नै धर्म हो । धर्म व्यक्तिको स्वभाव हो, सत्कर्म गर्नु धर्म हो । आफ्नो स्वभावबाट बाहिर हट्नु र असत्य कुरामा मन, विचार पु¥याउनु र कार्य गर्नु पाप हो । आफ्नो र अरूको स्वास्थ्यको सुरक्षा गर्नु धर्म हो । आफ्नो कारणले अरूलाई सङ्क्रमित बनाई दुःख
पु¥याउनु पाप हो । अब सोचांँै मन्दिर जाँदैमा धर्म हुन्छ या कोरोना कहरमा घरभित्र सुरक्षित बस्दा पाप लाग्छ ?
हाम्रो परम्परा र मान्यतालाई परम्परागत नबनाई समयानुकूल परिमार्जित गर्दै लैजानु र आफूमा रूपान्तरण ल्याउनु जत्तिको धर्म अरू होला र ? हामी जे सिक्छौँ, जे प्रयोगमा ल्याउँछौं त्यसले हाम्रो जीवनलाई स्वस्थ राख्न र आनन्दित एवं शान्त राख्न मद्दत गर्दैन भने हाम्रो सिकाइ खेर गएको माने हुन्छ । घरमै बसेर ध्यानपूर्वक इष्टदेवताको ध्यान, प्रार्थना र स्मरण गरेर यो तीज मनाऔँ । शिवको कल्याणकारिताको गुणवत्तालाई आफ्नो जीवनमा उतार्ने प्रयास गरौँ । त्यो नै धर्म र धार्मिकता हुनेछ ।
सजगता र होसको तीज
यो वर्षको तीज आफ्नै घरका परिवार मिलेर स्वस्थ र सुरक्षित रहँदै, सजगता र होसको पर्वका रूपमा मानौँ । यसमा दुःखेसो र गुनासो प्रकट नगरौँ बरु नयाँ अनुभूति र स्मरणीय बनाउने कोशिस गरौँ । समाजका मान्यता र कसले के भन्छ भन्ने कुराका पछाडि नलागौँ, अहंकार बढ्न नदिई, सामान्य अवस्थामा पनि पर्व कसरी बित्दोरहेछ होसपूर्वक निरीक्षण गरांँ । यो वर्षका तीज, ऋषिपञ्चमी लगायतका व्रत, विधि र मान्यताप्रति साक्षी बनौँ । प्रतिकूलतालाई कसरी सहजतामा रूपान्तरण गर्न सकिने रहेछ अवलोकन गरौँ, अभ्यास गरौँ र जीवनकालकै एउटा स्मरणीय क्षणका रूपमा अनुभूत गरौँ । तीजको दरलाई कोरोनाको डरले भन्दा पनि कोरोना भाइरससँग सजग भएर यो
महामारीसँग विजय प्राप्त गर्ने सङ्कल्प गरौँ । समय र परिस्थितिले हामीलाई जे कुराप्रति सजग र होसियार हुन सचेत गराएको छ, त्यसलाई स्वीकार गरौँ । सजगता, होस र चेतनाको स्तरबाट आउने अनुभूतिले नै सन्तोष प्राप्त हुन्छ । 
(लेखिका सामाजिक परामर्शदाता हुनुहुन्छ ।)गोरखापत्र अनलाइन भाद्र ४, २०७७ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button