खबर

कोरोना महामारीले मालामाल भएको एक कम्पनी र त्यसका मालिकको रोचक कथा

१६ भाद्र २०७७
जनादेश, काठमाण्डौ ।

कोरोना महामारीले संसारभर व्यापार व्यवसाय चौपट भैरहेको छन् । तर यही समयमा चिनियाँ मुलका एक अमेरिकी अर्बपतिको एपले भने अपत्यारिलो फाइदा गरिरहेको छ । महामारीमा मालामाल हुने चिनियाँ मुलका अमेरिकी नागरिक एरिक युआनले विकास गरेको रिमोट कन्फरेन्सिंग सेवा प्रदायक एप जुम ।

अहिले गुगल प्ले स्टोरमा संसारका सर्वाधिक चर्चित एपमा जुम एक नम्बरमा छ । संसारभर लोकप्रिय बनेको जुम एप मोबाइल र कम्प्युटरमा डाउनलोड गरेर विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । कोरोना महामारी सुरु भएयता यो एप भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, अनलाइन पठन पाठन र च्याट आदिका लागि संसारभर प्रयोग भैरहेको छ । कतिपय अनलाइन कम्पनीका कर्मचारीले घरैमा बसेर धेरैले यही एपमार्फत् काम गरिरहेका छन्।

नाफा नै नाफा

यो एपको फाइदा कोरोना महामारीको समयमा दोब्बरले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । यो आर्थिक वर्षको दोश्रो त्रैमासिकमा जुमको आम्दानी ३ सय ५५ प्रतिशत अर्थात ६६ करोड ३५ लाख डलर पुगेको कम्पनीले जनाएको छ । योसँगै जुमको नाफा १८ करोड ६० लाख पुगेको छ भने प्रयोगकर्ता सन् २ हजार १९ को तुलनामा ४ सय ५८ प्रतिशतले बढेका छन् ।

जुमले दोश्रो त्रैमासिकमा ५० करोड डलर आम्दानी गर्ने अनुमान विश्लेषकले गरेपछि शेयर बजारमा जुमको माग बढेको थियो । सोमबार जुमको शेयर मूल्यले रेकर्ड कायम गर्दै ३ सय २५ दशमलब १० डलर पुगेको थियो ।

केही समय अघि जुमको साइबर सुरक्षावारे प्रश्न नउठेको होइन । तर कम्पनीले आफ्नो कोडमा भएको कमजोरीबारे भुल सुधार गर्दै यस्तो कमजोरी पत्ता लगाउने ह्याकरलाई पुरस्कार दिने नयाँ कार्यक्रम घोषणा गर्‍यो । सुरक्षाको सम्भावित जोखिम र जुमबम्बिङ कम गर्नलाई जुमको डिजाइन पनि परिवर्तन भइरहेको निर्माताले बताएका छन् ।

जुम बनाउने एरिक युआनको रोचक कथा

एरिकको जन्म चीनको शाङ्दोङ प्रान्तको ताइआन सहरमा भएको थियो । उनले स्नातकोत्तर इन्जिनियरिङमा गरेका थिए। उनका बाबुआमा खानीका इन्जिनियर रहेको फोर्ब्सले जनाएको छ । स्नातकोत्तर गरिरहेकै समयमा २२ वर्षको उमेरमा लामोसमय देखि प्रेममा रहेकी युवतीसँग विवाह गरेका एरिकले २७ वर्षको उमेरमा चीनबाट अमेरिका जाने निधो गरेका थिए ।

आठ पटक आवेदन फिर्ता भएपछि नवौं पटकमा उनलाई अमेरिकाको भिसा प्राप्त भएको फोर्ब्सको विवरणमा उल्लेख छ। अमेरिका जाँदा अंग्रेजी बोल्न खासै नजानेका एरिकले कम्प्युटरमा कोडिङ गर्दा गर्दै चिया कफी खाने साथीहरुबाट अंग्रेजी बोल्न सकेका थिए । सन् १९९७ मा वेब-एक्स नामक सानो भिडियो कन्फरेन्सिङ कमप्नीमा सफ्टवेयर इन्जिनियरकोरुपमा काम गर्न थालेका एरिक सन् २ हजार ७ मा सो कम्पनी किन्ने सिस्को नामक कम्पनीमा काम गर्दै सन् २ हजार ११ मा कम्पनीको उपाध्यक्ष बन्न सफल भए । तर पछि कम्पनी छोड्ने निर्णय गरे ।

एरिकलाई जुम बनाउने विचार भने चीनमा हुँदा नै आएको फोर्ब्ससँग बताएका छन् । १८-१९ वर्षको उमेरमा रेल चढेर प्रेमिका भेट्न जाने समयमा उनलाई कुनै उपकरणमा क्लिक गरेर प्रेमिकासँग कुरा गर्न पाए कस्तो हुँदो हो भन्ने विचार मनमा आएको थियो जुन पछि जुमकोरुपमा प्रष्फुटित भयो ।

सिस्कोमा काम गर्दा गर्दै उनले विभिन्न मिटिङहरुमा भौतिकरुपमा उपस्थित हुनुको साटो जुमबाट उपस्थिति जनाउन थालेको बताएका छन् । भिडियो कन्फरेन्सिङका लागि टिम्स, गुगलको वि-मिट, वेब-एक्स लगायतका अनेक विकल्प भएपनि जुम कोरोना महामारीमा यसका निर्माता र अन्य धेरैका लागि बरदान सावित भएको छ ।

कर्जाको भारी बोकेर ठूला-ठूला र स्थापित कम्पनीसँग जुध्न एरिकले गरेको संघर्ष रोचक र प्रेरक छ । ४१ वर्षको उमेरमा एरिकले जुमको विकास गरेका थिए । एरिक भन्छन्- ‘कम्पनी सुरु गर्नका लागि आफू कति वर्षको भएँ भनेर सोच्नु पर्दैन । जहिले जहाँ सुरु गरेपनि हुन्छ’ ।

एजेन्सीको सहयोगमा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button