
१७ भाद्र २०७७, बुधबार
काठमाडौं ।
दोश्रो संक्रमित फेला पर्ने वित्तिकै देशव्यापी लकडाउन र अनेक प्रतिबन्धका बाबजुद नेपालमा कोरोना संक्रमणदर पछिल्लो समयमा डरलाग्दो दरमा बढिरहेको छ ।
८ महिनाको अवधिमा कोरोना नियन्त्रण हुनुको साटो झनै विस्तार हुने क्रम देखिँदा सर्वसाधारण नागरिकमात्र होइन सरकार सञ्चालन गरिरहेकाहरु समेत डराउन थालेका छन् ।
नेपालमा मंगलबार एकैदिन १ हजार भन्दा बढी संक्रमित थपिएर कुल कोरोना संक्रमितको संख्या ४० हजार ५०० नाघेको छ भने दैनिक थपिइरहने मृत्युदर बढिरहँदा कुल मृतकको संख्या २ सय ३९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले नै १२ जिल्लामा समुदायस्तरमै संक्रमण फैलिइसकेको बताएको छ । समुदायमा संक्रमण फैलिइसकेकाले नागरिक आफैं सचेत नभए अवस्था झनै भयावह हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
भाइरसले ८ महिनाको अवधिका स्वरुप परिवर्तन गरेका कारण झनै खतरा बढेको समेत मन्त्रालयको विश्लेषण छ । जसका कारण सघन उपचार कक्ष वा भेन्टिलेटरको सहायता चाहिने संक्रमितमात्र होइन मृत्युहुनेको दर पनि बढिरहेको छ।
डरलाग्दो विषय लक्षणविनै मृत्यु
नेपालमा सबैभन्दा खतरनाक पक्ष लक्षण नदेखिने तर संक्रमण भएर मृत्यु हुनेको दरमा देखिएको छ । अहिलेसम्म मृत्यु भएकामध्ये २५ प्रतिशत भन्दा बढी लक्षणविहीन थिए ।
सुरुमा ५० वर्षभन्दा कम उमेर समूहको मृत्यु बढी भएको भएपनि पछिल्लो समयमा वृद्धवृद्धाको मृत्युदर बढेको भन्दै मन्त्रालयले सतर्कताका लागि अपील गरेको छ ।
अहिलेसम्म मृत्यु भएका दुई सय २८ मध्ये २५ प्रतिशत लक्षण भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । यी मध्ये ५७ जना लक्षणसहितका संक्रमितको मृत्यु भएको महाशाखाको भनाई छ ।
दीर्घरोगीहरु सर्वाधिक जोखिममा
मुटु रोग, मिर्गौलाको समस्या, क्यान्सर, मधुमेहजस्ता जटिल रोग लागेकाहरू सर्वाधिक जोखिममा देखिएका छन् । अहिलेसम्मको मृत्यु आँकडामा यस्ता रोग लागेकाहरुको बाहुल्यता छ ।
निको हुनेदर पनि निराशाजनक
नेपालमा कोरोना निको हुने दर पनि निराशाजनक छ । सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५५ प्रतिशतको हारारहारीमा छ । निको हुने दर कम र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।
सार्कमा कोरोना निको हुने दर सबैभन्दा राम्रो श्रीलंकामा ९४ दशमलव ८८ प्रतिशत छ भने संक्रमण दर उच्च रहेको भारतमै पनि ७६ दशमलव २१ प्रतिशत निको हुने दर छ । यद्यपि मृत्युदर भने नेपालमा कम देखिन्छ ।janadeshdaily/from



