
फिल्मीखबर, काठमाडौं, 2020/09/09
फिल्म निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको निधन भएको छ । मंगलवार साँझ काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको निर्माता तथा कलाकार सन्तोष सेनले जानकारी दिएका छन् । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।
‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ फिल्म ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनी निर्देशित नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो फिल्म प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता फिल्म ‘हुतुतु’ को तयारीमा थिए । यो फिल्मको उनी आफैंले निर्देशन गर्दै थिए ।



