
२४ भाद्र २०७७, बुधबार
जनादेश, काठमाडौं ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ति आज मनाइँदै छ । नेपाली राजनीति र साहित्य दुवैतर्फ अतुलनीय योगदान दिएका बिपीका अनेक आयाम छन् ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुर्नस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म विक्रम सम्वत १९७१ भदौ २४ गते भारतको बनारसमा भएको थियो ।
“राष्ट्रियता” भनेको जनता र जनताका समस्याहरू हो र सबै नेपालीको एउटा सानो घर , गरि खान पुग्ने एउटा खेतबारी , एउटा दुहुँनो गाई हुनु नै नेपालको सन्दर्भमा “समाजबाद” हो भनेर व्याख्या गर्ने बिपीले छाडेको राजनीतिक विरासत आजको नेपालका लागि पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
पिता कृष्णप्रसाद कोइरालाले राणा शासनको विरोध गरेपछि कोइराला परिवार भारत निर्वासनमा जान बाध्य भएको थियो । निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो।
विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो।
त्यसपछि लामो समय सुन्दरी जल जेलमा विताएका कोइरालाले पुन आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । निर्वासित रहेका कारण प्रजातन्त्रको पक्ष लिँदा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए ।
विक्रम सम्वत १९७१ साल भाद्र २४ गते भारतको बनारसमा जन्मिनुभएका बिपी कोइरालाको निधन क्यान्सरका कारण २०३९ साल साउन ६ गते भएको थियो ।
साहित्यिक व्यक्तित्व
बिपी कोइरालालाई नेपाली साहित्यमा भने विश्वेश्वर प्रसाद कोइराला भनेर चिन्ने गरिन्छ । नेपाली साहित्यमा यौन मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास र दुई कथासङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ लगायतका डेढ दर्जन कृति प्रकाशित छन्।
बिपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवम् शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्नेछन् । तर यस वर्ष कोरोनाका कारण सबै कार्यक्रम भर्चुअल हुने बताइएको छ ।



