
खरसाङमा 52 वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु
सेप्टेम्बर 13, 2020
खरसाङ : आज 28 खरसाङ देवराली समष्टि अन्तर्गत वार्ड नम्बर 6 –मा 52 वर्षीय महिलाको कोरोना पोजिटिभ भएर मृत्यु भएको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको वार्ड पार्षद एवम् नगरपालिकाको हेल्थ सेनिटेशन विभागको इन्चार्ज श्याम शेर्पाले दिएको जानकारी अनुसार खरसाङको अप्पर शेर्पा बस्ती निवासी 52 वर्षीय महिला विगत धेरै दिनदेखि ब्रेस्ट क्यान्सरले पीडित थिइन्। तिनको अवस्था निकै गम्भीर भएकोले आज बिहान 4 बजेतिर खरसाङ महकुमा अस्पतालमा लगेपछि जाँच अवधि कोरोना पोजिटिभ रहेको पुष्टि भयो भने जाँच अवधि नै तिनको मृत्यु भएको बताइएको छ। अस्पताल अनि प्रशासन पक्षको तर्फबाट शव सिलगढी फुलबारीस्थित श्मशान घाटमा लगिएको पार्षद श्याम शेर्पाले जानकारी दिएका छन्। घटनाको जानकारी पाउन साथ नगरपालिकाको तर्फबाट उक्त क्षेत्रमा सेनिटाइज गरियो।
खोरीबारीमा भाजपा युवा मोर्चाद्वारा र्याली

सेप्टेम्बर 13, 2020
खोरीबारी : भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूलाई पुलिसले झुटो मामिलामा फँसाएको विरोधमा आज खोरीबारी बुढ़ागञ्ज र रानीगञ्ज बिन्नाबाड़ी मण्डल युवा मोर्चाको तर्फबाट विरोध र्यालीको आयोजना गरियो। खोरीबारी बुढ़ागञ्ज मण्डल भाजपाका युवा मोर्चा अध्यक्ष तरुण सिंहले पश्चिम बंगालमा भाजपा कार्यकर्ताहरूलाई झुटो मामिलामा फँसाइरहेकोले गर्दा आज पुलिसको उक्त अत्याचारको विरोधमा र्यालीको आयोजना गरेको हो। यस अवसरमा खोरीबारी बुढ़ागञ्ज मण्डलका अध्यक्ष कल्याण कुमार प्रसाद, नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, युवा मोर्चा मण्डलका अध्यक्ष तरुण सिंह, रानीगञ्ज बिन्नाबाड़ी मण्डल युवा मोर्चाका अध्यक्ष तापस मांझी लगायत धेरै संख्यामा भाजपाका कार्यकर्ताहरू उपस्थित थिए।
दुधे शान्ति बस्तीमा 3 सय परिवार हिल टीएमसी-मा सामेल

सेप्टेम्बर 13, 2020
मिरिक : दुधे शान्ति बस्तीमा आज एउटा कार्यक्रमबीच 3 सय घर परिवार हिल टीएमसी-मा सामेल भएका छन्। दीपक प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि पार्टी अध्यक्ष एलबी राईले मिरिकमा मात्र होइन दुधेमा पनि हिल टीएमसीलाई आम जनताले माया गरेको बताउँदै दुधेको बुनियादी विकास अनि समस्याको समाधान गर्न पार्टीले इमान्दारिताको साथ कार्य गरिदिने वचन दिएको बताए। तिनले दुधेका जनता सचेत अनि जागरुक भई अघि बढनु पर्ने आवश्यकतामाथि पनि जोर दिए। पार्टीका सक्रिय सदस्य बिराज विश्वकर्मालाई दुधे खण्डकाको को-अर्डिनेटर चयन गरियो। सुक बहादुर सिन्चुरीद्वारा सञ्चालित सभामा हिल टीएमसीका मिडिया इन्चार्ज सन्दीप प्रधान, वार्ड कमिश्नर सन्जिब तामाङ, राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरमेन दीपराज राई, सार्की विकास एवम् सांस्कृतिक बोर्डका चेयरमेन सदीप सार्की, कालेबुङ जिल्ला युवा एकाई उपाध्यक्ष फिरोज प्रधान, सदस्य साङ्गे तामाङ, मिरिक नगरपालिका वार्ड नम्बर 9-का नगर पार्षद सन्जीव तामाङ, साङ्गे तामाङ आदि उपस्थित थिए।
दिव्य ज्योति संघद्वारा तीनधारेमा वृक्ष रोपण कार्यक्रम
सेप्टेम्बर 13, 2020
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको शंकर निवासमा अवस्थित दुर्गा काली मन्दिरको स्थापनाको एक सय वर्ष पुगेको अवसरमा दिव्य ज्योति संघको आयोजनामा आज वृक्ष रोपण कार्यक्रम सम्पन्न गरियो। दिव्य ज्योति संघको तर्फबाट आज तीनधारेकै पुरानो प्राथमिक पाठशाला ब्रम्ह्र मन्दिर प्राथमिक पाठशाला र दुर्गा काली मन्दिर परिसरमा एक सयवटा रुखको विरुवाहरू रोप्ने कार्य सम्पन्न गरियो। यस वर्ष दुर्गा काली मन्दिरले एक सय वर्ष पुरा गरेको अवसरमा दिव्य ज्योति संघले विभिन्न कार्यहरू गर्ने भएको छ। यसै अन्तर्गत आज पहिलो कार्यक्रम अन्तर्गत रुखको विरुवा रोप्ने कार्य सम्पन्न गरियो। यस कार्यमा संघका सभापति टिकाबहादुर कालीकोटे, सचिव चन्द्रबहादुर भुजेल, सह सचिव नवराज छेत्री, कार्यकारी सदस्य सन्तोष लामा लगायत अन्यले रुखको विरुवा रोपे। विरुवा रोपण कार्यक्रमपछि दिव्य ज्योति संघका सह सचिव नवराज छेत्रीले पत्रकारहरूसित बोल्दै शंकर निवासमा रहेको माता दुर्गा काली मन्दिरको स्थापानाको एक सय वर्ष पुगेको अवसरमा हामीले विभिन्न कार्यक्रमहरू गर्ने बताउँदै आज रुखको विरुवा रोपेर यसको शुरुवात गरिएको हो। तिनले विरुवाहरू उपलब्ध गराउन सहयोग गर्ने खरसाङ गाडीधुरा रेञ्जका रेञ्जर बसन्त शेर्पाप्रति पनि आभार प्रकट गरे। सह सचिव नवराज छेत्रीले दिव्य ज्योति संघले दोस्रो कार्यक्रम अन्तर्गत आगामी 20 सेप्टेम्बरको दिन नि:शुल्क आँखा जाँच शिविरको आयोजना गर्ने बताए।siliguritimes/from,india




