खबर

६५ देशका राष्ट्रगान गाउने नेपाली

१० आश्विन २०७७

बागलुङ।

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उहाँको विश्वयात्रा ने अपर्झ रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्‍यो।

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्कनुभएका उहाँको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उहाँको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले शुरु हुन्छ ठेगान छैन ।

बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका ४१ वर्षीय उहाँको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो । कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उहाँ विश्वयात्रामा हुनुहुन्थ्यो ।

“स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ”, उहाँले भन्नुभयो, “अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ÷दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु ।” नेपालीले अहिले पूर्वी युरोपेली देश अलबानियाको राष्ट्रगान सिकिरहनुभएको छ । बन्दाबन्दी र निषेधाज्ञाको समय सिर्जना र साधनामा बिताएको उहाँले सुनाउनुभयो । यसबीचमा नेपालीले बागलुङ र म्याग्दीका कैँयन नयाँ ठाउँको घुमफिरसमेत गर्नुभयो । यात्राका क्रममा नेपालीले नै पहिलोपटक पहिचान गर्नुभएको बागलुङ नगरपालिका–७ र ६ को सीमास्थित ‘बुद्ध हिल’ अहिले पर्यटकीय आकर्षणका रुपमा चिनिन थालेको छ ।

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडेको नेपालीले बताउनुभयो । “सानैदेखि केही न केही नयाँ काम गर्ने हुटहुटी चल्थ्यो, त्यसकै उपज हो यो विश्वयात्रा पनि”, उहाँले भन्नुभयो । ‘विश्वयात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने नेपालीको सपना छ । हालसम्म उहाँले भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डको भ्रमण गरिसक्नुभएको छ । “पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु गरेँ, प्रवासी नेपालीहरुसँगको समन्वयमा युरोप पुगेँ”, उहाँले भन्नुभयो ।

उहाँले आइफिल टावरमा पुगी फ्रान्सको राष्ट्रगान गाएको स्मरण गर्नुभयो । बेल्जियम, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको नेपालीले बताउनुभयो । “जुन देश पुग्छु पहिले नेपालको राष्ट्रगान गाउँछु अनि सम्बन्धित देशको”, उहाँले भन्नुभयो । नेपालीले भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गर्नुभएको थियो । “भारतमा झण्डै चार महिना बिताएँ, नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक÷अनौपचारिक कार्यक्रम भए”, उहाँले भन्नुभयो, “एकै ठाउँमा चार÷पाँच वटासम्म राष्ट्रगान गाएँ ।”

बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाउनुभयो । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुनेमा उहाँ आशावादी हुनुहुन्छ । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उहाँको भनाइ छ ।

“विस्तारै सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ”, नेपालीले भन्नुभयो । उहाँले ‘गुगल’, ‘युट्युव’ जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोज्नुहुन्छ । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उहाँको भनाइ छ । “१९४ देशकै राष्ट्रगान र तिनका ट्र्याक सङ्कलन गरिसकेको छु”, नेपालीले भन्नुभयो ।

संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उहाँको अनुभव छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउने सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भन्नुभयो । उहाँले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्नुहुन्छ ।

यसैबीच, विश्व पर्यटन दिवसको सन्दर्भमा यही असोज ११ गते गायक नेपालीले एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउने कार्यक्रम तय गरिएको छ । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देश दिने उद्देश्यले सो कार्यक्रम राखिएको आयोजक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

नेपालीले पहिलोपटक एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउन लाग्नुभएको हो । यसअघि गत फागुनमा गलकोट नगरपालिका–५ टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा उहाँले नेपालसहित ११ देशका राष्ट्रगान गाउनुभएको थियो ।

नेपालीले जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउँदा कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारहरुले आफ्नो राष्ट्रगानको सम्मान गरेका थिए । झण्डै २५ वर्ष नेपाली गीत, सङ्गीतमा बिताउनुभएका नेपालीका ‘वर्ष दिनको मेला’ ९२०५३०, ‘जवानीमा तानेको’ ९२०५९०, ‘भीरको टुनी’लगायत गीत सार्वजनिक छन् । newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button