१८ आश्विन २०७७
जनादेश, काठमाडौं ।
नेपाली कांग्रेसमा शीर्ष नेतादेखि कार्यकर्ता तहसम्म कोरोना भाइरसको संक्रमण फैलिएको देखिएको छ । गगन थापा र उनका ससुरा अर्जुननर सिंह केसी लगायत ५ केन्द्रीय सदस्यसहित ५ दर्जनभन्दा बढी नेता तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
विहीबार स्वाव संकलन गरी शनिबार आएको पिसिआर परिक्षण रिपोर्टमा कम्तीमा ६२ जनामा कोराना संक्रमण देखिएको स्रोतले बताएको छ।
केन्द्रीय सदस्य मध्ये गगन थापा, अर्जुननरसिंह केसी, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको नेपाली कांग्रेसले पुष्टि गरेको छ ।

गगनका ज्वाइँ-ससुराले शनिबार राति आफूलाई कोरोना भएको भन्दै सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन अपील गरेका थिए ।
एकैपटक धेरै संख्यामा नेता कार्यकर्तालाई कोरोना देखिएपछि सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेताहरु पनि स्वभाविक रुपले कन्ट्याक्ट ट्रेसिङमा परेका छन् भने बैठकहरु अनिश्चित भएका छन्।
पदाधिकारी बैठक स्थगित
कांग्रेस केन्द्रीय समिति बैठकअघि गरिएको परीक्षणमा ठूलो संख्याका नेता कार्यकर्तालाई कोरोना देखिएपछि १९ गतेलाई तय गरेको केन्द्रीय कार्यसमिति बैठक प्रभावित भएको छ ।
कांग्रेसले पार्टी मुख्यालयका कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक र केन्द्रीयस्तरका नेताहरुको गरी झण्डै २ सय ७० जनाको दुई दिनअघि स्वाब परीक्षण गरेको थियो।
प्रभावशाली नेताहरुलाई कोरोना देखिएपछि आइतबार बिहान ९ बजेका लागि तय गरिएको पार्टी पदाधिकारीको बैठक पनि स्थगित भएको छ।



