१८ आश्विन २०७७
जनादेश अपडेट ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार र निजी सचिवालयमा कोरोना संक्रमणको अवस्था भयावह देखिएपछि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य जोखिम बढेको छ ।
ओलीको सचिवालयका केही प्रभावशाली सदस्यसहित बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकके छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतलाई कोरोना संक्रमण भएको छ तर प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अधिकांशलाई कोरोना पोजेटिभ देखिएपछि सबै औपचारिक तथा अनौपचारिक भेटघाट बन्द गरिएको छ।
कसरी छिर्यो बालुवाटार कोरोना ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको बताएको छ । सचिवालयका सदस्य, सुरक्षाकर्मी र कर्मचारीले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना नगरेका कारण कोरोना भाइरस सरेको मन्त्रालयको निष्कर्ष छ ।
बालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी ७० जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अन्य ४५ जनाको नतिजा आउन बाँकी रहेको छ ।
काठमाडौंमा पनि समुदायस्तरमै संक्रमण !
पछिल्लो केही साता यता उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। देशभर थपिएका नयाँ संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित उपत्यकामा भेटिने गरेका छन्।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले सकेसम्म काठमाडौँ नआउन अनुरोध गरेका थिए ।
शनिबार उपत्यकामा संक्रमितको दर ५५.५१ देखिएको छ। यसमध्ये देशभर २ हजार १ सय २० जना नयाँ संक्रमित थपिए, तीमध्ये उपत्यकाका १ हजार १ सय ७७ जना रहेका छन्।
१० दिनको तथ्याङ्क हेर्ने हो भने उपत्यकामा संक्रमण दर ५५.७० पुगेको छ। यही १० दिनको आँकडा हेर्ने हो भने असोज १६ गते सबै भन्दा धेरै ६०.१७ प्रतिशत संक्रमित उपत्यकाका रहेको देखिएको छ। जसमा २ हजार ७ सय २२ जना देशभरबाट सबै भन्दा धेरै नयाँ संक्रमित भेटिए, सोही मध्ये १ हजार ६ सय ३८ जना संक्रमित उपत्यकाका थिए।
अहिलेको अवस्थालाई क्लष्टरमा मात्र संक्रमण रहेको भन्न नमिल्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ ।



