
अशोज १८, २०७७
एजेन्सी – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो बराबरीको नतिजा निकाल्दा रियल बेटिसले तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
एट्लेटिकोले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिल्लारियलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि हुएस्कासँग पनि गोलरहित बराबरी खेलेको थियो ।
घरेलु मैदानमा बल पोजेसनमा पकड बनाएपनि भिल्लारियलको बलियो रक्षापङ्ति तोड्न नसक्दा एट्लेटिको बराबरीमा रोकिन बाध्य बन्यो । क्याटलान क्लब बार्सिलोनाबाट यसै सिजन एट्लेटिको आएका लुइस सुआरेज लगातार दोस्रो खेलमा गोल गर्न चुके । डेब्युमा उनले दुई गोल गरेका थिए ।
जोओ फेलिक्स, डिएगो कोस्टा, थोमस, कोकी र यान्निक करास्कोले केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । यता, भिल्लारियलका पाको अल्कासेर, मोइ गोमेज र जेरार्ड मोरेनोलगायतको प्रहारमा पनि एट्लेटिकोका गोलरक्षक बाधक बनेका थिए ।
बराबरीसँगै एट्लेटिकोले ३ खेलमा ५ अंक जोडेको छ । एट्लेटिको लिगको ११औं स्थानमा रहेको छ । भिल्ला ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस्तै अर्काे खेलमा रियल बेटिसले भ्यालेन्सियामाथि २–० को जित निकाल्दै कम्तीमा एक दिनको लागि शीर्षस्थानमा उक्लिएको छ । रियल बेटिसको जितमा सर्जियो क्यानालेस र क्रिस्टियन टेलोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएका थियो ।
जितसँगै रिय बेटिसले ५ खेलबाट ३ जित र २ हारबाट ९ अंक जोडेको छ । एक खेल कम खेलेको साविकको विजेता रियल म्याड्रिडको ७ अंक रहेको छ । पराजित भ्यालेन्सिया ७ अंकसहित छैटौ स्थानमा छ ।hamrokhelkud/from



