
१९ आश्विन २७७
जनादेश अपडेट ।
प्रधानमन्त्रीको निजी सचिवालयले शनिबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेको जानकारी गराएको थियो । ओलीको सचिवालयले तीन सल्लाहकार, मुख्य स्वकीय सचिवसहित ७४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रण भएपछि भेटघाट बन्द गरेको भनिएको थियो ।
बालुवाटारमा कोरोना संक्रमण देखिएपछि आइतबार दिउँसोका लागि तय भएको सचिवालय बैठक अनिश्चित समयका लागि स्थगित भएको छ।
तर भेटघाट बन्दको घोषणा भएको एक दिनमै ओलीले यो नियम तोडेका छन् । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति लगायतका विषयमा विवाद बढ्दै गएपछि दबाबमा परेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाटकै लागि आइतबार बालुवाटार बोलाएका थिए ।
प्रदेश ५ को स्थायी राजधानी दाङलाई बनाउने विषयले पनि नेकपामा तनाव बढाएको छ ।
विष्णु पौडेल निराश
आइतबार ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंखर पोखरेल र जनार्दन शर्माबीच बालुवाटारमा झण्ड दुई घण्टा छलफल भयो ।
पाँच नेताबीच पाँच नम्बर प्रदेशको राजधानी तोक्ने, सरकार पुनगठनलगायका समसामयिक विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्षद्वयको अनुमतिमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले शुक्रबार प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र अर्घाखाँचीको भुभाग समेटर स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए।
बुटवलमै प्रदेशको स्थायी राजधानी हुनुपर्ने अडान राख्दै आएका महासचिव पौडेलले दाङलाई प्रदेश राजधानी बनाउने निर्णय सच्याउनु पर्ने माग गरेका छन् । तर ओली, प्रचण्ड, पोखरेल र शर्माले प्रस्ताव ठीक भएकाले फिर्ता लिन आवश्यक नरहेको जवाफ दिए ।
मन्त्रिपरिषद् पुनर्गठन पनि एजेण्डा
आइतबारको छलफलमा सरकार पुनः गठनबारे पनि छलफल भएको छ। स्थायी समितिको म्याण्टेडअनुसार मन्त्रिपरिषद् पुनः गठन गर्न ओली प्रचण्ड दुई हप्तादेखि छलफलमा जुटे पनि सहमति जुटेको छैन ।
पार्टीभित्र कुनै परामर्श नगरी राजनीतिक नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति नेकपा धेरै नेता असन्तुष्ट छन्। त्यस्तै मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जारी छलफल पनि कुनै निचोडमा पुग्न सकेको छैन।
प्रचण्ड जतिसक्यो धेरैलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा रहेपनि ओली भने रिक्त रहेको मन्त्रालय र थप केही मन्त्री मात्र फेर्ने र आफूलाई साथ दिएकाहरुलाई जसरी पनि जोगाउने पक्षमा छन् ।



