माननीय डनहरुले बेलाबेलामा रमिता देखाउने क्रमलाई निरन्तरता दिएकाछन् । कोरोना महामारीले मननै थाङ्थिलो भएको बेला एक झलक भएपनि उनीहरुले राम्रै खेल प्रदर्शन गरेकाछन् । धन्यवाद दिनै पर्छ सबै खेलाडिहरुलाई जसले समय समयमा हामीलाई केही नभएपनि कुरिकुरि लाग्ने रमिता देखाउने गर्छन् ।
जसले सबै भन्दा धेरै लोकतन्त्रको वकालत गर्छन्, जसले सबै भन्दा धेरै जनताको पक्षको कुरा कथुर्ने गर्छन् उहाँ माननीय डनहरुलेनै लोकतन्त्र र जनमतको खिल्ली उडाउँदै रमिता देखाउने गरेकाछन् । थोरै पनि लाज लाग्दो हो त शायदै माननीय नामका श्रद्धेय डनहरुले यस्तो खेल प्रदर्शन गर्दैनथे होलान् । तर, माननीय के हो र किन भन्ने शायद नबुझेर नै भन्नु पर्छ बेलाबेलामा भद्र र शालीन डनहरुको रमिता चल्ने गर्छ र हामी माननीय बनाउनेहरु उनीहरुको रमिता हेर्न बाध्य र विवश हुन्छौँ ।
आफुलाई मानीनय भनेर गजक्क पर्ने उहाँहरुलाई हामीले के गर्न हुने र के गर्न नहुने भन्ने चेत हुदो हो त बेलाबेलामा माननीयका नाममा यस्ता हर्कत हुने थिएनन् होलान् । आफुले देखाएको तमासाले जनतालाई थोरै भए पनि मनोरञ्जन हुन्छ भनेर हो या आफ्नो वास्तवकि सक्कल बेलाबेलामा प्रस्तुत गर्ने चाहना भएर हो उनीहरुले यस्ता खेलतमासा सर्कसमा होइन संसदमानै गर्ने गरेकाछन् ।
एउटा माननीय कति जिम्मेवार हुन्छ भन्ने आफ्नो पदीय महत्वको हेक्का नराखी उनीहरुले गर्ने तोडफोडका गतिविधिले लोकतन्त्रको मात्र होइन आम जनताप्रतिको गैर जिम्मेवारी चरित्रको पराकाष्ठानै हो । आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई चिन्न र बुझ्न नसक्नेहरुलाई जनमतको समर्थन हुनुले पनि माननीय पद फितलो बन्दै गएको हो भन्न सकिन्छ । कहिले संसदमा त कहिले प्रदेश सभामा देखिने यसप्रकारका नाटकले जो लोकतन्त्र र गणतन्त्र भन्दै चिच्याउँछन् उनीहरुनै यसप्रति बफादार र जिम्मेवार छैनन् भन्ने पुष्टि हुन्छ । माननीय भन्नेहरुको थलोमै जब जनताको रगत पसिनाबाट निमार्ण गरिएका कुर्सी , टेबल तोडफोड हुन्छन् भने यसलाई आम जनताले कसरी बुझ्ने । आफुलाई चित्त नबुझेको कुरा शान्तिपूर्ण ढङ्गले राख्नु पर्छ भनेर अर्ति र उपदेश दिने माननीयहरुनै जब डनको रुपमा देखा पर्छन् भने आम जनताले अब के सिक्ने ? जनता र देशको सेवा गर्छौ भनेर जनमत लिएर माननीय बनेकाहरु जब आफ्नो थलोमा रेसलिङ्ग देखाउँछन् भने जनताले यसलाई पिडित दर्शक बनेर हेर्नुको बिकल्प छैन ।
अब हामीले माननीय भन्नेहरुलाई सोध्ने बेला आएको छ , हामीले तिमीलाई त्यहाँ गएर जनता र देशको सेवा गर भनेर पठाएको हो या माननीयका नाममा रेसलिङ्ग खेल गर्न पठाएको हो ? माननीय भन्ने पद र यसको मर्यादालाई बचाउने तिमीसँग सामाथ्र्य छैन भने राजिनामा किन नगर्ने ? पटक पटक माननीय भन्नेहरुले गरेको तोडफोडको घटनामा समलग्नहरुलाई देशको कानूनले छुन्छ कि छुदैन ?जनमतलाई आफ्नो कार्यथलोमा मजाक मात्र होइन लोकतन्त्रकै मानमर्दन गर्ने माननीय नामका रेसलिङ्ग खेलाडिहरुलाई अब यसै छुट हुन्छ कि उनीहरुले सार्वजनिक रुपमा जनतासँग क्षमा माग्नु पर्छ कि पर्दैन ?
0 19 2 minutes read



