२२ आश्विन २०७७, बिहीबार ०६:४१
जनादेश अपडेट ।
नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने संकेत देखिएको छ । केन्द्रीय राजधानी काठमाडौं सबैभन्दा बढी प्रभावित हुने संकेत पछिल्लो तथ्याङ्कले देखाएको छ ।
लकडाउनको समय र त्यसपछिको निषेधाज्ञामा पनि मानिसहरू काठमाडौंलाई सुरक्षित स्थान ठानेर यहाँ आउने क्रम चलिरहेको थियो । तर अब भने देशको समग्र संक्रमण दरमा काठमाडौंले ६० प्रतिशत हाराहारीको भार बोक्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै काठमाडौं उपत्यकामा १ हजार १७ जना नयाँ संक्रमित थपिएका थिए। जबकि देशभर संक्रमित संख्या १५ सय ५१ मात्र थियो। मंगलबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा हालसम्म ३२ हजार ६ सय ८७ संक्रमित पुगेका छन्।
बुधबार पनि देशभर ३ हजार ४ सय ३९ थपिँदा काठमाडौं उपत्यकामा १६८४ संक्रमित थपिएका छन्।
अवस्था अनियन्त्रित हुने संकेत देखिएपछि काठमाडौंका अस्पतालमा पनि विरामीलाई पहुँचको समस्या देखिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने बताएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरे ।
समुदायस्तरमै कोरोना
काठमाडौं उपत्यकामा कोरोना समुदाय स्तरमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरिसकेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जनकराज दाहाल काठमाडौ जिल्लाभित्र संक्रमण बढ्दै गएका कारण अझै थप कडाइ गर्न सकिने बताएका छन् । मानिसको आवतजावतमा पनि अब नियन्त्रण गर्न लागिएको उनको बताए।
२५ हजार सक्रिय संक्रमितः फेरि लकडाउनको सिफारिश
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दसैंमा काठमाडौंबाट गाउँ र गाउँबाट काठमाडौं नआउन अपील गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएको खण्डमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको जानकारी दिइसकेको छ ।
मन्त्रालय श्रोतले सरकारलाई सुझाव दिइसकेको तर लकडाउन वा निषेधाज्ञा हुने/नहुनेबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्न सक्ने जनाएको छ ।



