अशोज २४, २०७७
एजेन्सी – सन् २०२२ मा कतारमा आयोजना हुने कतार विश्वकपको दक्षिण अमेरिकी स्तरको विश्वकप छनोटको पहिलो खेलमा कोलम्वियाले सानदार जित हात पारेको छ ।
शनिबार बिहान भएको खेलमा घरेलु टोली कोलम्वियाले भेनेजुएलामाथि ३–० को सहज जित निकालेको हो । कोलम्वियाको जितमा लुइस मुरिएलले दुई तथा डुभान जापटाले एक गोल थपे । पहिलो हाफमा गरेको तीन गोल नै कोलम्वियाको जितमा पर्याप्त बन्यो ।
खेलको १६औं मिनेटमा कप्तान हामेस रोड्रिग्वेजको पासमा जुवान क्वाडराडोले क्रस गरेको बललाई डुभान जापटाले क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरेका थिए । २६औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै कोलम्वियाको अग्रता दोब्बर पारे । जोहान मोजिकाको क्रस विपक्षी खेलाडीलाई डिफ्लेक्ट हुदै आएको बललाई अनमार्क रहेका मुरिएलको प्रहारलाई भेनेजुएलाका गोलरक्षक वुइल्कर फारिनेजले रोक्ने कुनै मौक नै पाएनन् ।
३३औं मिनेटमा जेफर्सन साभारिनोको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै भेनेजुएलाको गोलअन्तर बढ्न दिएनन् । ३५औं मिनेटमा रोबर्टाे रोसेल्सको प्रहारलाई कोलम्वियाका गोलरक्षक क्यामिलो भर्गासले बचाएपछि भेनेजुएला अग्रता कम गर्नबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक क्यामिलोले दिएको पासमा लुइस मुरिएललले काउन्टर अट्याकमा बल एक्लै अघि बढाउदै गोल गर्न सफल भएपछि कोलम्वियाले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।
५०औं मिनेटमा भेनेजुएलाका डार्विन माचिसको प्रहार बाहिरियो । ५५औं मिनेटमा रोनाल्ड हर्नान्डेजको प्रहारलाई गोलरक्षक क्यामिलो भर्गासले बचाउदै कोलम्वियाको अग्रता कायमै राखे । ७२औं मिनेटमा कप्तान हामेस रोड्रिग्वेजको पासमा सब्सिच्युट फ्रान्क फाब्राको प्रहार बाहिरिंदा कोलम्वियाले अग्रता बढाउने अवसर खेर फाल्यो ।
७६औं मिनेटमा राडामेल फल्काहोको प्रहारलाई भेनेजुएलाका गोलरक्षक वुइल्कर फारिनेजले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा कोलम्विया ३–० ले विजयी हुन सफल भयो ।
जितसँगै कोलम्वियाले एक खेलबाट ३ अंक जोडेको छ । भेनजुएलाले अंक जोड्न सकेको छैन ।
विश्वकप छनोटमा दक्षिण अमेरिकाको १० राष्ट्रको सहभागिता रहेको छ । बिहीबारको खेलमा अर्जेन्टिना र उरुग्वेले जित दर्ता गरेका थिए । शीर्ष चार टोलीले विश्वकपमा स्थान पक्का गर्दा पाँचौ स्थानमा रहने टोलीले प्ले अफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।hamrokhelkud/from



