
२४ आश्विन २०७७
राजविराज ।
सप्तरीमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा कोरोना सङ्क्रममित बढ्न थालेको जनाउँदै पिसीआर परीक्षणको दायरा वढाउन माग गरेको छ । जिल्लामा दैनिक सङ्क्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भीडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन माग गरिएको हो ।
सोही बैठककले जिल्लामा स्वाब परीक्षण गर्ने भिटीएम र किट ९रिएजेन्ट० लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन सङ्घ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोनाको अवस्थाबारे अवगत गराएका थिए ।
सो बैठकमा विभिन्न निकायका सरोकारवाला, राजनीतिकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको थियो । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने एक हजार ३६२ सङ्क्रमित भएका छन् । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ ।
पाँच जना थपिए कोरोना सङ्क्रमित
सप्तरीमा प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित थप पाँच कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालयमा एक साताअघि आएका डिएसपीसहित पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताउनुभयो ।
उहाँका अनुसार राजविराज नगरपालिकाका–३ र सुरुङ्गा नगरपालिका एक जनामा सङ्क्रमण देखिएको हो । यससँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३६२ जना पुगेको छ । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ। कोरोनाबाट हालसम्म सप्तरीमा १९ जनाले ज्यान गुमाइसकेको जनाएको छ ।newsofnepal/from



