बुधबार, अशोज २८, २०७७
एजेन्सी – शीर्षस्थानमा रहेको स्पेन युइएफए नेसन्स लिगका चौथो राउन्डको खेलमा युक्रेनसँग स्तब्ध बनेको छ । स्पेन घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो
स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।
किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखेपनि रक्षापङ्ति तोडन सकेन । खेलको १६औं मिनेटमा अन्सु फातीका प्रहारलाई युक्रेनका गोलरक्षक जर्ज बुस्चनले बचाए । लगत्तै फातीकै कर्नरमा रोड्रीको हेडरले पोस्टको दिशा लिएन ।३६औं मिनेटमा युक्रेनले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेन ।
दोस्रो हाफको शुरुमै युक्रेनले गोल गर्ने सुवर्ण अवर खेर फाल्यो । सेरही सेडोरचुकको पासमा ओलेक्सान्डर जुवकोभ अफसाइड ठहरिए । ७३औं मिनेटमा फेरान टोरेसको पासमा मिकेल ओयरजावलको प्रहारलाई गोलरक्ष् बुस्चनले बचाए । लगत्तै टोरेसले गाह्रो अवस्थाबाट गरेको प्रहारमा बुस्चन नै बाधक बन्दा स्पेन अग्रता लिनबाट चुक्यो ।
७६औं मिनेटमा सब्सिच्युट खेलाडी भिक्टोर टीसीगान्कोभले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले एन्ड्री यार्मोेलेन्कोको पासलाई नियन्त्रणमा लिदै गोलरक्षक डेभिड हे गेया अघि बढेको अवस्थामा गरेको प्रहार गोलमा परिणत भएको थियो । भिक्टोर ६५औं मिनेटमा ओलक्सान्डरको स्थानमा मैदान छिरेका थिए ।
८१औं मिनेटमा भिटाली माइकोलेन्कोले एडमा ट्राओरेको पासमा ड्यानियल ओल्मोले गरेको प्रहारलाई उत्कृष्ट ब्लक गर्दै स्पेनको बराबरी टारे ।
युक्रेनसँगको हापछि पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलबाट ७ अंक रहेको छ । समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक भएपनि जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।hamrokhelkud/from



