कात्तिक २, २०७७
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् ।
‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।
‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो । खैर केही छैन, हामी दुवै जना बस्छौँ र तपाईंहरुको समस्यालाई समाधान गर्छौं ।’
दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरुसँग छलफल गरेका थिए । शनिबार ओलीले कर्णालीका नेताहरुसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए, तर गएनन् । नागरिक दैनिकमा समाचार छ ।



