
७ कार्तिक २०७७
मेचीनगर । झापा मेचीनगर वडा नं ७ मा रहेको जागृत बाल उद्धार केन्द्रका नानीहरुलाई स्थानिय समाजसेवी युवा बालकृष्ण थापाले आज लुगा वितरण गरेकाछन् । बिजया दशमीको अवसर पारेर केन्द्रमा रहेका नानीहरुलाई उनले दशैको नाना वितरण गरेका हुन् ।

केन्द्रका संचालक अर्जुन देबकोटाका अनुसार करिब ४० हजार बराबरको लुगा थापाले केन्द्रका नानीहरुलाई प्रदान गरेका थिए । बाल उद्धार केन्द्रमा रहेका १७ जना बालबालिकाहरुलाई पेण्ट र टि सर्ट वितरण गरिएको थियो । नेपाली हिन्दूहरुको महान पर्वको अवसरमा आज सप्तमीका दिन थापाले केन्द्रमै गएर त्यहाँ रहेका बालबालिकाहरुलाई सो सामाग्री वितरण गरेका हुन् । थापा काँकरभिट्टाबाट प्रकाशित हुने रातो पोष्ट साप्ताहिकका प्रबन्ध निर्देशक समेत हुन् । दशैको अवसर पारेर थापाले केन्द्रका नानीहरुलाई नयाँ लुगा बाँडिरहँदा केन्द्रका नानीहरु दशैँमा नयाँ लुगा पाएकोमा दङ्ग समेत परेका थिए ।



