खबर

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

कात्तिक १५, २०७७
काठमाडौँ – सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिए । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’

‘‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उनले भने, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छौँ, उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button