कात्तिक १७, २०७७
काठमाडौं – गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन्।
गत बुधबार कोरोना परीक्षण गर्दा काठमाडौंको कीर्तिपुर बस्दै आएका ४१ वर्षीय कपिल बस्नेतको रिपोर्ट पोजेटिभ आयो । उनलाई अत्यधिक ज्वरो आयो । पखाला पनि लाग्यो । उनी आत्तिए । उनलाई अस्पताल लैजान खोजिए पनि परिवारका सदस्यले कतै पनि शय्या खाली नभएको जवाफ पाए ।
कपिलका भाइ सबिन बस्नेतले भने, ‘दाइ धेरै बिरामी हुनुभयो, अस्पतालहरूमा धाएँ । तर धेरै अस्पतालले बेड खाली छैन भने । अनि नजिकैका चिकित्सकको सल्लाहमा दाइलाई औषधि खुवाएर घरमै राख्न बाध्य भयौं ।’
आइतबार देशभर ३७ हजार ७ सय ६५ सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन् ।
प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७८ जना भेन्टिलेटरमा र २ सय ८३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।



