
कार्तिक १७, २०७७
एजेन्सी – प्रिमियर लिगमा फर्किएपछि वेल्सका फरवार्ड ग्यारेथ बेलको पहिलो गोल सहयोगमा टोटेनहम हस्टपुरले ब्राइटनमाथि २–१ को संघर्षपुर्ण जित निकालेको छ ।
अर्काे एक गोल ह्यारी केनले पेनाल्टीमार्फत गरेका थिए । ब्राइटनका तारिक लाम्पाटेले एक गोल फर्काए । टोटेनहम हस्टपर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमले खेलको १३औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।
२३औं मिनेटमा ब्राइटनले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । ५६औं मिनेटमा पास्कल ग्रोसको पासमा तारिक लाम्पटेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा इरिक लमेलाको प्रहार पोस्टमा लागेर फर्कदा टोटेनहमले पुन अग्रता लिनबाट चुक्यो ।
मैदान प्रवेश गरेको तेस्रो मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा इरिक लमेलाको स्थानमा मैदान प्रवेश गरेका बेलले सर्जियो रिगुइलोनको पासमा गोल गर्न सफल भएका थिए । प्रिमियर लिगमा फर्किएपछि दोस्रो खेलमा बेलको यो पहिलो गोल हो ।
जितसँगै टोटेनहम ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । ब्राइटन ५ अंकसहित १६औं स्थनमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको १६ अंक छ ।hamrokhelkud/from



