मूल खबर

शनिवार दुई अध्यक्षबीच गम्भीर छलफल हुन सक्ने

कार्तिक २१, २०७७
लक्की चौधरी
काठमाडौं, कात्तिक २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले भेट गरी पार्टीको आन्तरिक विषयमा छलफल गर्नुभएको छ । भेटमा उहाँले पार्टी एकतालाई सुदृढ बनाउन सुझाव दिनुभएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुक्रबार दिउँसो भेटगरी सो विषयमा नेम्वाङले छलफल गर्नुभएको हो । भेटका क्रममा दुई अध्यक्षबीच गम्भीर वार्ता गरी पार्टीको आन्तरिक समस्या छिटो समाधान गर्न सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।

पार्टीका नेताहरुसँग ‘साइडलाइन’ छलफल र बैठक गर्दा कार्यकर्ता र जनताबीच गलत सन्देश गएको भन्दै अध्यक्ष प्रचण्डलाई उहाँले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरी सहमतिमा पुग्न आग्रह गर्नुभयो । पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले सचिवालयका सदस्यहरुसँग गर्नुभएको छलफल पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएर गर्नुभएको उहाँले बताउनुभयो ।

सचिवालयका सदस्यहरुसँग छलफल गरी त्यसबाट आउने सुझाव र निस्कर्षका आधारमा प्रधानमन्त्रीसँग छलफल गर्ने कुरा अध्यक्ष प्रचण्डले आफूलाई बताएको नेता नेम्वाङले जानकारी दिनुभयो । उहाँकाअनुसार दुई अध्यक्षबीच सम्भवतः शनिबार गम्भीर वार्ता हुनेछ ।

यसअघि भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्षद्वयको प्रस्ताव र सचिवालय बैठकले त्यसलाई अनुमोदन गरिसकेकाले त्यसको कार्यान्वयनमा जोड दिन आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिएको नेता नेम्वाङ्लले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

“अध्यक्ष प्रचण्डले बालुवाटार वार्ताका लागि आउँदिन भन्नुभएको रहेनछ, मिडियामा गलत समाचार आयो भन्नुभएको छ” नेता नेम्वाङ्ले भन्नुभयो, “अब त झन घनिभूत छलफल गरेर अघि बढ्छु भन्नुभएको छ, सचिवालयका केही सदस्यहरुसँगको आजको छलफलको आधारमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्छु भन्नुभएको छ ।”

विहिबार भएको दुई अध्यक्षबीचको छलफलमै सचिवालयका सदस्यहरुसँग परामर्श गर्छु भनेर अध्यक्ष प्रचण्डले बालुवाटारमा जानकारी गराउनुभएको थियो, सोही आधारमा आज उहाँले धुम्बाराहीमा छलफल गर्नुभएको नेता नेम्वाङले बताउनुभयो । खुमलटारमा भएको भेटमा आफूले अध्यक्ष प्रचण्डलाई सबै किसिमको गुटबन्दी अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउने भूमिका निर्वाह गर्न आग्रह गरेको बताउनुभयो ।

नेता नेम्वाङले पार्टीमा गुटबन्दी कायमै रहेमा, पार्टी फुटको सङ्घारमा पुगेमा, कार्यकर्ता र जनतालाई के जवाफ दिनुहुन्छ ? जिज्ञासा राख्नुभएको थियो । उहाँको जिज्ञासामा अध्यक्ष प्रचण्डले पार्टी कुनै हालतमा नफुट्ने र केही दिनभित्र सबै समस्या वार्ताबाटै समाधान हुने बताउनुभएको थियो । नेता नेम्वाङ्ले पार्टीको विवाद समाधानमा अध्यक्ष प्रचण्ड गम्भीर रहनुभएको आफूले पाएको बताउनुभयो ।

त्यस्तै, आफूले खुमलटारमा गरेको अध्यक्ष प्रचण्डसँगको भेटवार्ता र छलफलबारे नेता नेम्वाङ्ले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ । खुमलटारको छलफलपछि नेता नेम्वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो । “हामी दुई जनाबीचमा भएको छलफल र दिइएको सुझावबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जानकारी गराएँ” नेता नेम्वाङ्ले भन्नुभयो ।

यसैबीच अध्यक्ष प्रचण्डले धुम्बाराहीमा बोलाउनुभएको सचिवालयको अनौपचारिक भेलामा पाँचजना सदस्यहरुको सहभागीता रहेको बताइएको छ । भेलामा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पारखेल, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलको सहभागीता छैन । सचिवालयमा नौ जना सदस्य रहनुभएको छ ।

पार्टीको आन्तरिक विषयमा दुई अध्यक्षबीच विमति शुरु भएपछि पार्टी फुटको गलत सन्देश बाहिर गएको भन्दै दोस्रो तहका नेताहरुले दुई अध्यक्षलाई मिल्न दवाव दिइरहनुभएको छ । सोही क्रममा नेता नेम्वाङ्ले अध्यक्ष प्रचण्डलाई शुक्रबार भेटी पार्टी फुटबाट जोगाउन दवाव दिनुभएको हो । यसैगरी अन्य नेताहरुले पनि निरन्तर दुवै अध्यक्षलाई एक्ला एक्लै भेटगरी सुझाव तथा परामर्श दिइरहनुभएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button