खबर

अमेरिकी राष्ट्रपति चुनाव : आधिकारिक इलेक्टोरल कलेज भोट बाइडेनको २५३ र ट्रम्पको २१३,जर्जियामा बाइडेनले उछिन्यो

२२ कार्तिक २०७७
(एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ । मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनमध्य एकलाई आगामी ४ बर्षका लागि ह्वाइट हाउस पुर्याउने यस दौडको अन्तिम नतिजा ४ वटा राज्यको मतगणनामा अडेको छ ।
यसबीच ट्रम्पले लगातार अग्रता हासिल गर्दै आइरहेको जर्जियामा स्थिति उल्टिएको छ । यस राज्यको हुलाक मतपत्र गणनापछि बाइडेनले झिनो मतले अग्रता हासिल गरेको छ । मत गणना जारी छ ।

अमेरिकी राष्ट्रपति चुनावको मतगणना नतिजालाई लिएर अमेरिकी सन्चार माध्यमहरुमा फरक फरक आंकडा आइरहेको छ । फोक्स र एपी जस्ता सन्चार माध्यमले एरिजोनाको नतिजा बाइडेनको पक्षमा गइसकेको र त्यहाँको ११ इलेक्टोरल मत सहित उनको इलेक्टोरल मत २ सय ६४ पुगेको प्रसारण गरिरहेको छ । यस आंकडा अनुसार बाइडेनले राष्ट्रपति चुनाव जित्न आवश्यक २ सय ७० को चमत्कारिक इलेक्टोरल कलेज मत संख्या पुर्याउन मात्र ६ मत जिते पुग्छ ।

यो मत उनले नेभाडा राज्यमा जिते लगत्तै प्राप्त गर्न सक्ने अवस्था छ । किनभने नेभाडाको इलेक्टोरल मत ६ नै रहेको छ र उक्त राज्यमा बाइडेनले नै अग्रता हासिल गरिरहेको छ । त्यसैगरी राष्ट्रपति ट्रम्पको इलेक्टोरल कलेज मत २ सय १३ पुगेको छ ।
एरिजोनामा बाइडेन जितिसकेको केही सन्चार माध्यमले बताएपछि त्यसको औपचारिक घोषणा भएको छैन ।

सीएनन, बीबीसी, एवाईटी जस्ता जस्ता सन्चार माध्यमले बाइडेनको इलेक्टोरल मत २ सय ५३ पुगेको देखाएको छ । ती सन्चार माध्यमले एरिजोनाको इलेक्टोरल मत समावेश गरेका छैनन् । एरिजोनामा अझै हजारौं मत गणना हुन बाँकी रहेको बताइएको छ । यदि एरिजोनाको सबै मत गणना भएर ट्रम्पले अग्रता हासिल गर्छ भने नतिजा अप्रत्यासित हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताइएको छ ।

यसबीच पेन्सिलभेनियाको मत गणनामा पनि ट्रम्प र बाइडेन बिचको मत अन्तर साँघुरिँदै गइरहेको छ । बाइडेनको जन्म यसै राज्यमा भएकोले पनि उनका लागि यहाँको चुनावले विशेष महत्व राख्छ । यद्यपी यहाँको नतिजा बाइडेनको पक्षमा नगएपनि एरिजोना र नेभाडाले नै बाइडेनलाई ह्वाइट हाउस पुर्याउन सक्ने पक्का छ ।

१५ इलेक्टोरल मत रहेको नर्थ क्यारोलिनामा ट्रम्प अगाडी छ र यहाँको मत अन्तर पनि धेरै छ । त्यसैले यो राज्य ट्रम्पकै पक्षमा जाने सम्भावना राख्छ । अन्तिम समयमा जर्जियामा बाइडेनको अग्रताले डेमोक्र्याट राष्ट्रपति बन्ने सम्भावनालाई अझ बलियो पारेको छ । जर्जियामा ९९ प्रतिशत मत गणना भइसकेको छ । यदि बाइडेनले जित्ने हो भने ट्रम्पले कुनै पनि हालतमा आवश्यक २७० इलेक्टोरल कलेज भोट हासिल गर्न सक्ने छैन।

दोस्रो कार्यकालका लागि जित हासिल गर्नुलाई आफनो ब्यक्तिगत प्रतिष्ठाको विषय बनाइरहेका ट्र्रम्प मत गणनाको पछिल्लो ट्रेन्डले झन हतास भएको देखिएको छ । उनले डमोक्र्याटिक पार्टी मात्रै होइन, राज्यको चुनाव र मतगणना प्रक्रियालाई लिएर आक्रोस ब्यक्त गरिरहेका छन् । लगातार उत्तेजना फैलाउने खालको टिप्पणी गरिरहेकोले केही अमेरिकी सन्चार माध्यमले नेताहरुको प्रतिक्रियाको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button