
२५ कार्तिक २०७७
मेचीनगर । स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्साललाई सरुवा गरिएपछि मेचीनगरपालिकाका वडाध्यक्षहरुले त्यसको बिरोध जनाएका छन् ।
भर्खरै मात्र सरुवा भई मेचीनगर नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले नगरको विकास निर्माणमा ठुलो असरपार्ने भन्दै वडाध्यक्षहरुले सोमबार मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती समक्ष ज्ञापनपत्र बुझाएकाहुन्। उपप्रमुख मिना पोख्रेल उप्रेतीको कार्यकक्षमा पुगी वडा नं १० का अध्यक्ष सुवेशकुमार पनेरुको नेतृत्वमा वडा अध्यक्षहरुको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउन मेचीनगर ५ का वडाध्यक्ष योगेन थापा मगर , ४का वडाध्यक्ष नविन बराल, १५का वडाध्यक्ष गुणराज भट्टराई , ९का वडाध्यक्ष गोपाल खड्का १० का वडाध्यक्ष सुवेशकुमार पनेरु , ७ का वडाध्यक्ष चन्दन मेचे लगायत बिभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
नगरपालिकामा एक महिनाको अवधिमा दुईजना नयाँ अधिकृतको सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
अध्यक्षहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘ बिगतबाट नै प्रमुख प्रशासकीय अधिकृत लगायत महत्वपूर्ण जिम्मेवारीमा बसेका कर्मचारीहरुलाई राजनैतिक आस्था र हस्तक्षेपका आधारमा निर्धारित समयसम्म काम गर्न नदिई सरुवा गर्ने प्रबृत्तिले नगरका सम्पूर्ण विकासका योजनाहरुमा बाधा उत्पन्न हुँदै आएको छ’, ।
भर्खरै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले सो प्रमाणित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘नगरका प्रमुख कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको अवस्थामा गरिएको अधिकृतको सरुवा नियोजित हो र यस प्रकारको कार्य संघिय सरकारले नगरसंग समन्वय नगरी गरिएको सरुवा तथा निर्णय स्थानीय तहमा भएको प्रत्यक्ष हस्तक्षेप हो’, ज्ञापन पत्रमा भनिएको छ।
।स्थानीय सरकार सँग समन्वय नगरी संघिय सरकारको आदेशामा गरिएको प्रमुख प्रशासकिय अधिकृतको सरुवा तत्काल खारेज गर्न ज्ञापन पत्रमा मागगरिएको छ । वडाध्यक्षहरुले आफ्नो माग सुनुवाई नभए कडाकदम चाल्ने समेत जनाएका छन् ।



