मूल खबर

प्रचण्डलाई ‘व्याक फायर’ गर्ने ओली पक्षको रणनीति, आगामी १० दिन हुनेछन् नेकपामा निर्णायक

४ मंसिर २०७७
जनादेश वाच ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई आरोपको पुलिन्दा भन्दै फिर्ता नभएसम्म बैठक र संवाद नहुने प्रचार गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु बुधबार ओलीलाई सचिवालय बैठकमा पठाउन तयार भए । सचिवालयमा अल्पमतमा रहेका ओलीले असन्तुष्ट पक्षलाई फकाएर वा गलाएर बैठक सार्न सकियो भने परिस्थिति आफूअनुकूल बनाउन थप समय उपलब्ध हुने ठानेका उनीहरुले अन्तिम समयमा एक कदम व्याक हुने रणनीति तय गरे ।

सबै कमिटीमा अल्पमतमा रहेका ओली परिस्थितिले यति पेलिए कि बैठकमा सहभागी नभै धरै पाएनन् । बैठकमा ओलीको उपस्थितिले प्रचण्डको प्रस्तावले बैधता पाएको मात्र छैन इतर पक्षलाई जसरी पनि ठेगान लगाउँछु भन्ने ओली र उनको गुटको मानसिकता पनि फेरिन बाध्य भएको छ ।

यद्यपि, प्रचण्डले पेस गरेको प्रतिवेदनको ‘जवाफी प्रतिवेदन’ लेख्न ओलीले मागेको १० दिनमा व्यापक चलखेल गर्ने र परिस्थिति बदलेर अनुकुल बनाउने ओली पक्षको रणनीति छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले पार्टीका बिबाद समाधान गर्नेभन्दा पनि समय लम्ब्याउने खेल खेलिरहेको बताएका छन्।

बुधबार बसेको सचिवालय बैठकमा बोल्दै उनले अहिलेको बिबादलाई समाधान गर्नेभन्दा पनि ‘टाइम बाइ’ गर्ने रणनीति अख्तियार गरिएको बताए।

‘अहिले पार्टीको बिबाद समाधान गर्नेभन्दा पनि ढिलोढाला गर्ने काम भइरहेको छ,’ बैठकमा नेपालले राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘समय लम्ब्याउने खेल खेल्नु हुँदैन। यो गलत हो।’

ओलीले प्रस्ताव तयार पारेर पेश गर्न मागेको समय संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउनेमा केन्द्रित गर्न सक्ने सहज अनुमान प्रचण्ड-नेपाल समूहका नेताहरुको छ।

अघिल्लो साता सचिवालयमा प्रस्तुत प्रस्तावमा प्रचण्डले भ्रष्टाचार, आफन्तवाद, एकाधिकारवाद र अधिनायकवादको पक्षधर ओली भएको गम्भीर आरोप लगाउँदै अब उनले आत्मालोचनासँगै पद त्याग गर्न आग्रह गरेका छन्।

तर त्यसको बुँदागतरुपमा जबाफ तयार भएको भन्दै प्रचण्डको प्रस्ताव भन्दा पनि अझ कडा आरोपसहित प्रस्ताव पेश गर्ने ओलीपक्षले घुमाउँरो चेतावनी दिएको छ।

प्रचण्ड र ओलीले तयार गरेका दस्तावेजमाथि स्थायी कमिटीमा छलफल हुनेछ । स्थायी कमिटीले टुंगो लगाउन नसके ती प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछन् ।

प्रधानमन्त्री ओली अहिलेको विवाद स्थायी कमिटीमा लगेर होइन, सचिवालयमा टुंगियोस् भन्ने चाहन्थे । जति तल्लो कमिटीमा गइन्छ, त्यति आफू कमजोर भइन्छ भन्ने बुझेका ओलीले सचिवालय बैठकमै सबै कुरा टुंगो लगाउने ओली चाहना छ । प्रचण्ड, माधव नेपालसहितका ५ जना सकेसम्म ओलीविरुद्धको मोर्चाबन्दीलाई तल्लो कमिटीसम्म लैजान चाहन्छन् ।

अडिग बामदेव
उपाध्यक्ष वामदेव गौतमले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा आफ्नो पनि सहमति रहेको स्पष्ट पारेका छन् । सो प्रतिवेदनबारे भ्रम छरिएको भन्दै गौतमको सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ।
‘नेकपा उपाध्यक्ष क. वामदेव गौतमले अध्यक्ष क. प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ’ गौतमको सचिवालयले भनेको छ।

प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उनी सतिसालझैँ अडिग रहेको सचिवालयले स्पष्ट पारेको छ।janadeshdaily.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button