
९ चैत २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका वडा नं ३ स्थित वडागाउँमा स्टकमा रहेको भरौट र बलौटे पुरुवाको ढुवानीका विषयमा स्थानीयले प्रश्न उठाएकाछन् ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मेचीनगर नगरपालिकाले निन्दा रिभरल्याण्ड कल्चरल होमस्टे एण्ड एग्रो फर्म प्रालिलाई उक्त स्थानमा स्टकमा रहेको ३४९९ घनमिटर नदीजन्य सामाग्री झापाका विभिन्न स्थानमा लैजानका लागि अनुमति दिएको थियो ।तर, अहिले सम्म कति घन मिटर भरौट र बलौटे पुरुवा लगिएको हो चित्त बुझ्दो जवाफ नभएको उनीहरु बताउँछन् ।
हामीलाई प्राप्त जानकारी अनुसार मिति २०७७÷१०÷२६ देखि २०७७÷११÷११ गते सम्म सो स्थानमा रहेको ३४९९ घन मिटर सो सामाग्री ढुवानीका लागि मेचीनगर नगरपालिकाले अनुमति दिएको थियो । तर, तोकीएको मितिमा उक्त सामाग्री उठाउन नसकेको भन्दै ढुवानीकर्ताले निवदेन दिएपछि पुन २०७७÷११÷१२ देखि २०७७÷११÷२५ गते सम्मलाई म्याद थप गरेको नगरका कार्यकारी अधिकृत खेमराज ओझाले बताए ।तर, स्थानीयका अनुसार दैनिक दर्जनौँको संख्यामा आएका ट्रिपर उक्त सामाग्री उठाईरहेको र तोकीएको भन्दा बढि सामाग्री कतै ढुवानी भईरहेको त छैन ? भन्ने आशंका जन्मिएको उनीहरुको तर्र्क छ ।दैनिक बिहानदेखि बेलुका सम्म दर्जनको संख्यामा आउने ट्रिपरले सो सामाग्री उठाउने गरेकाले नपाले तोके भन्दा बढि नदीजन्य सामाग्री ढुवानी भईरहेको एक स्थानीयले आरोप लगाए ।यस विषयमा हामीले मेनपा ३ का वडाध्यक्ष हर्क बस्नेतसँग सम्पर्क गर्दा उनले आफुहरुले निरिक्षण गरिरहेको र त्यस्तो केही नभएको प्रतिकृया दिए । बस्नेतले यस विषयमा नगरपालिकाले निणर्य गरेको हुँँदा थप जानकारीका लागि नपामा सम्पर्क गर्न समेत आग्रह गरेका थिए ।यो विषयमा हामीले मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत खेमराज ओझासँग जिज्ञासा राख्दा उनले म्याद थप गर्नुको कारण बताउँदै भने—‘ ढुवानीकर्ताले आफुहरुले पहिला तोकिएका ढुवानीका साधन कतिपय नआएकाले ढुवानीमा समस्या भएको बताएका र बुझ्दा करिब २००० घन मिटर सामाग्री बाँकी देखिएकाले म्याद थप गर्नु परेको हो’ । ओझाले ढुवानीकर्ताको निवेदन उपर बुझेर नै म्याद थप गरिएको र त्यसमा कुनै अन्य कारण संझनु नपर्ने पनि ओझाको भनाई थियो । उनले यो विषयमा नगरपालिकाको पूर्वाधार विकास समितसँग समेत बुझ्न आग्रह गरेका थिए ।
नगरको पूर्वाधार विकास समितका संयोजक कृष्ण कनालसँग हामीले वडा गाउँमा स्टकमा रहेको नदीजन्य सामाग्रीको ढुवानीमा स्थानीयले गरेको आशंकाका विषयमा जिज्ञासा राख्दा उनले त्यहाँ कुनै तलमाथि नभएको बताए । कनालका अनुसार समितिले प्राविधिक सहितको स्थलगत अनुगमन र निरिक्षण गरिरहेको पनि बताए । उनले स्टकका विषयमा प्राविधिकहरुले बाँकी रहेको नदीजन्य सामाग्रीको स्टकका विषयमा जानकारी गराएको समेत बताए ।तर, स्थानीय भने दैनिक आउने गरेका दर्जनौ ट्रिपरले उठाएको उक्त सामाग्रीका विषयमा भने अहिले पनि उनीहरु यसको मापनको रेकर्ड नपासँग समेत भरपर्दो नभएको हुन सक्ने बताउछन् । स्थानीयको आशंकालाई निवारण गर्न सरोकारवाला पक्षले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरि स्थानीयलाई चित्त बुझ्दो जवाफ दिनु पर्ने देखिन्छ ।



